सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३ हजार २३६ जनाले कम हो । सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना विदेशी पर्यटक आएका थिए ।
नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक सार्वजनिक गर्दै अगस्टमा समग्र पर्यटक आगमन केही घटे पनि केही प्रमुख अन्तर्राष्ट्रिय बजारबाट भने उल्लेख्य वृद्धि भएको जनाएको छ ।
अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २६ हजार ३७३ जना पर्यटक नेपाल आएका छन्, जुन कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक आएका छन् । चीनबाट भएको आगमन गत वर्षको अगस्टको ७ हजार ५३३ जनाको तुलनामा ३६.७८ प्रतिशतले बढेको हो ।
त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ४६.२४ प्रतिशतले बढी हो । अमेरिकी बजारबाट ६ हजार २९३ जना, बंगलादेशबाट ४ हजार ४८७ जना र बेलायतबाट ३ हजार ४७६ जना पर्यटक आएका छन् ।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया नेपालका लागि सबैभन्दा ठूलो पर्यटक स्रोत बजार बनेको छ । अगस्टमा दक्षिण एसियाली मुलुकबाट ४१ हजार ४२२ जना पर्यटक आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना र युरोपबाट १० हजार ८७५ जना पर्यटक नेपाल आएका छन् ।
ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ३.८६ प्रतिशत वृद्धि हो । अमेरिकाबाट ७ हजार ४७३ जना पर्यटक आएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा २.४७ प्रतिशत बढी हो ।
मध्यपूर्वबाट १ हजार १० जना पर्यटक नेपाल आएका छन् । यस क्षेत्रमा पर्यटक आगमन ६.९९ प्रतिशतले बढेको छ । अफ्रिकाबाट भने ३३८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ४.९७ प्रतिशत बढी हो ।
अगस्टमा केही उदीयमान बजारबाट भने उच्च वृद्धि देखिएको छ । रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन ५१.३८ प्रतिशत वृद्धि हो । युक्रेनबाट २१६ जना पर्यटक आउँदा आगमन ८३.०५ प्रतिशतले बढेको छ ।
कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २७७.७८ प्रतिशत वृद्धि हो । भुटानबाट १ हजार २८८ जना, मलेसियाबाट १ हजार ६१८ जना र थाइल्यान्डबाट ६८१ जना पर्यटक नेपाल आएका छन् । यी बजारबाट क्रमशः ४९.२५ प्रतिशत, १३.०७ प्रतिशत र १९.८९ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ ।

