भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा भारतीय विदेश सेवाका वरिष्ठ अधिकारी सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले दलेलाको नाम राजदूत नियुक्तिका लागि आवश्यक ‘एग्रिमो’ स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पठाएको हो।
नेपालमा पछिल्लो समय राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई राजदूतका रूपमा पठाउने विषयमा चर्चा भइरहेका बेला भारतले भने विदेश सेवामा लामो अनुभव हासिल गरेका कूटनीतिज्ञ दलेलालाई नेपालका लागि प्रस्ताव गरेको हो। नेपाल सरकारले उनको एग्रिमो स्वीकृत गरेपछि राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेला अहिले भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत छन्। उनले सन् २०२५ देखि उक्त जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको वर्तमान भूमिकामा भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका मुलुकसँग विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषय समेटिएका छन्।
दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा करिब तीन वर्ष काम गरेका थिए। नेपाल र भुटानसँग सम्बन्धित मामिला हेर्ने भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनमा समेत उनले विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। सन् २०१६ देखि २०१९ सम्म नर्थ डिभिजनका सहसचिव रहँदा उनले नेपाल र भुटानसँग भारतको सम्बन्धसम्बन्धी विषयमा प्रत्यक्ष रूपमा काम गरेका थिए।
उनको कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु भएको थियो। त्यसपछि उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्।
दलेलाले भारतीय प्रधानमन्त्री कार्यालयमा समेत महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। सन् २००९ देखि २०११ सम्म प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा कार्यरत रहँदा उनले दक्षिण एसियाली छिमेकी राष्ट्र, पूर्वी एसिया तथा इन्डो–प्यासिफिक क्षेत्र, खाडी तथा मध्यपूर्व र अफ्रिकी मुलुकसँग भारतको सम्बन्धसम्बन्धी विषय हेरेका थिए।
व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा पनि उनको अनुभव रहेको छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गर्नुका साथै विश्व व्यापार संगठन (डब्लूटीओ) मा भारतको स्थायी नियोगमा दुईपटक सेवा गरेका छन्।
अमेरिकामा समेत दलेलाले विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेका छन्। उनी वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री तथा सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुखका रूपमा कार्यरत थिए। अमेरिकामै उनले भारतका महावाणिज्यदूतको जिम्मेवारीसमेत सम्हालेका थिए।
नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक तथा रणनीतिक सम्बन्धका विविध पक्षमा नियमित संवाद हुँदै आएको छ। यस्तो अवस्थामा नेपालका लागि प्रस्तावित भारतीय राजदूत दलेलाको लामो कूटनीतिक तथा आर्थिक मामिलासम्बन्धी अनुभवलाई विशेष रूपमा हेरिएको छ।


