Banijya News

विद्युत् महसुल तिर्न अझै ७३ प्रतिशत ग्राहक काउन्टरमा, बिल उठाउनमै ६० करोड खर्च

1
1.1K Shares

नेपालमा डिजिटल भुक्तानीको पहुँच तीव्र रूपमा विस्तार भइरहे पनि विद्युत् महसुल भुक्तानीमा भने यसको प्रयोग अपेक्षाकृत कम रहेको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणका करिब ७३ प्रतिशत ग्राहक अझै पनि विद्युत् महसुल तिर्न भौतिक रूपमा काउन्टरमै पुग्ने गरेका छन् ।

डिजिटल भुक्तानीको प्रयोग बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाटै महसुल भुक्तानी गर्न आग्रह गरेका छन् । उनले ठूलो संख्यामा ग्राहक काउन्टरमा पुग्दा समय र खर्च बढ्नुका साथै प्राधिकरणको स्रोत र जनशक्ति पनि महसुल संकलनमै केन्द्रित भइरहेको बताएका छन् ।

मन्त्री श्रेष्ठका अनुसार, प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका शाखामा हाल ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन् । ती काउन्टर सञ्चालनमा मात्र प्राधिकरणले वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च गर्दै आएको छ । यसको मासिक खर्च करिब ५ करोड रुपैयाँ पुग्छ ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत डिजिटल भुक्तानीको प्रयोग बढाउन आग्रह गर्दै काउन्टर सञ्चालनमा खर्च भइरहेको रकम र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवा तथा विद्युत् सेवाको गुणस्तर सुधारमा प्रयोग गर्न सकिने बताएका छन् ।

उनका अनुसार, डिजिटल माध्यमबाट महसुल तिर्दा ग्राहकको समय बचत हुनुका साथै काउन्टरसम्म पुग्न लाग्ने आवतजावत खर्चसमेत घट्छ । त्यस्तै, नगद कारोबार कम हुँदा वित्तीय पारदर्शिता र कारोबारको सुरक्षा बढ्ने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले अहिले पनि ठूलो संख्यामा नागरिक काउन्टरमै पुग्नुपर्ने अवस्थालाई परिवर्तन गर्न सचेत नागरिकको सहयोग आवश्यक रहेको बताएका छन् । उनले परिवार, इष्टमित्र, छरछिमेकी तथा आफन्तलाई डिजिटल भुक्तानीबारे जानकारी दिन र सिकाउन आग्रह गरेका छन् ।

विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने ज्येष्ठ नागरिक तथा अभिभावकलाई परिवारका सदस्यले सहयोग गर्नुपर्नेमा उनले जोड दिएका छन् । एकपटक डिजिटल भुक्तानी गर्न सिकाउँदा हरेक महिना महसुल तिर्न काउन्टरसम्म पुग्नुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

श्रेष्ठले डिजिटल भुक्तानीलाई केवल भुक्तानीको माध्यम परिवर्तनका रूपमा मात्र नहेरी सार्वजनिक स्रोतको प्रभावकारी उपयोगसँग जोडेर हेर्नुपर्ने बताएका छन् । काउन्टर सञ्चालनमा खर्च हुने बजेट तथा जनशक्तिलाई अन्य ग्राहक सेवा र विद्युत् प्रणाली सुधारमा उपयोग गर्न सके सेवा प्रवाह थप प्रभावकारी हुने उनको धारणा छ ।

उनले डिजिटल भुक्तानीको विस्तारलाई नागरिकको समय बचत, सेवा सहजता, वित्तीय पारदर्शिता र सार्वजनिक स्रोतको सदुपयोगसँग जोडिएको साझा अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । सम्भव भएसम्म आजैदेखि डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न र डिजिटल भुक्तानी गर्न नजान्ने एक जनालाई सिकाउनसमेत उनले नागरिकलाई अपिल गरेका छन् ।

1

Scroll to Top