Banijya News

हिम पावर हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो प्राथमिकता

1
1.0K Shares

हिम पावर हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको हो। यी दुवै समूहका लागि सेयर बाँडफाँट प्रक्रिया सम्पन्न भएपछि कम्पनीले बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत बराबर हुने ५९ करोड १५ लाख रुपैयाँ मूल्यका ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ। सोहीअनुसार पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ९० हजार कित्ता सेयर जारी गरिएको छ। यस सेयरको कुल मूल्य १६ करोड ९० लाख रुपैयाँ रहेको छ।

स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजना अति प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई वितरण गरिनेछ। यसअन्तर्गत दोलखा जिल्लाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बासिन्दा पर्नेछन्। बाँकी ६ लाख ७६ हजार कित्ता भने यी दुई गाउँपालिकाका अन्य वडामा स्थायी बसोबास गर्ने स्थानीयलाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरिएको छ। यसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरिनेछ। यसको कुल रकम ४ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म मागअनुसार सेयर बिक्री नभएमा निष्कासन अवधि मंसिर १० गतेसम्म थपिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन दिने म्याद छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म तोकिएको छ।

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न दुई रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।

1

Scroll to Top