Banijya News

विद्युत् निर्यातबाट तीन महिनामै सवा १६ अर्ब आम्दानी

1
1.0K Shares

नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा विद्युत् निर्यातबाट १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार साउनदेखि असोजसम्म विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको आम्दानी भएको हो ।

नेपालले वर्षायाममा आन्तरिक माग पूरा गरेपछि बचत हुने विद्युत् भारतको प्रतिस्पर्धी बजारमा बिक्री गर्दै आएको छ । असोज महिनामा मात्रै भारततर्फ ६३ करोड ३९ लाख युनिट विद्युत् निर्यात गरिएको छ । उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, भारततर्फ विद्युत् निर्यात गर्ने नेपालको क्षमता थप विस्तार भएको छ । भारतले थप ३१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिएसँगै नेपालको कुल स्वीकृत निर्यात क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ । यसले आगामी दिनमा भारतीय बजारमा थप विद्युत् बिक्री गर्ने अवसर सिर्जना गरेको छ ।

यता, बाढीका कारण केही समय अवरुद्ध भएको बंगलादेशतर्फको विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । नेपालले बंगलादेशमा ४० मेगावाट विद्युत् पठाउन थालेको मन्त्रालयले जनाएको छ ।

भारततर्फ निर्यात क्षमता बढ्नु र बंगलादेशमा बिक्री पुनः सुरु हुनुले नेपालको विद्युत् निर्यात बजार विस्तार हुँदै गएको देखाएको छ ।

1

Scroll to Top