Banijya News

एनपीएलमा आज विराटनगर-जनकपुर र लुम्बिनी-पोखराबीच प्रतिस्पर्धा

1
1.0K Shares

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

प्रतियोगिताअन्तर्गत पहिलो खेल आज दिउँसो १२ः३० बजे सुरु हुनेछ । उक्त खेलमा विराटनगर र जनकपुर दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन् । यसअघिका खेलको नतिजा हेर्दा जनकपुर तुलनात्मक रूपमा बलियो अवस्थामा देखिएको छ भने विराटनगरलाई आफ्नो प्रदर्शन सुधार्दै पुनरागमन गर्ने चुनौती छ ।

विराटनगर किंग्सले हालसम्म प्रतियोगितामा तीन खेल खेलेको छ । जसमा उसले एक खेलमा जित हात पारेको छ भने दुई खेलमा पराजय बेहोरेको छ । विराटनगरले चितवन राइनोज तथा कर्णाली याक्ससँगको खेल गुमाएको थियो । यद्यपि सुदूरपश्चिम रोयल्सविरुद्ध भने जित निकाल्दै आफ्नो क्षमता प्रदर्शन गरेको थियो ।

दुई हार र एक जितको अवस्थामा रहेको विराटनगर आजको खेल जितेर अंकतालिकामा आफ्नो स्थिति सुधार्न चाहन्छ । त्यसका लागि टोलीले ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्नुपर्ने देखिन्छ ।

यता जनकपुर बोल्ट्सले तीन खेलबाट दुई जित र एक हारसहित राम्रो सुरुवात गरेको छ । जनकपुरले प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग पराजय बेहोरेको थियो । त्यसपछि भने काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई हराउँदै लगातार दुई जित निकालेको थियो ।

जनकपुर आफ्नो जितको लयलाई निरन्तरता दिने योजनामा हुनेछ । विराटनगरका लागि भने जनकपुरको चुनौती पन्छाउँदै प्रतियोगितामा दोस्रो जित निकाल्ने अवसर हुनेछ । दुवै टोलीका लागि आजको खेल अंकतालिकामा आफ्नो स्थान बलियो बनाउने दृष्टिले महत्त्वपूर्ण रहनेछ ।

यसैगरी आजको दोस्रो खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ । दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

लुम्बिनीले हालसम्म खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ भने अर्को खेल बराबरीमा टुंगिएको छ । प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो । दोस्रो खेलमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने क्रममा वर्षा बाधक बनेपछि खेल रद्द भएको थियो । त्यससँगै दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।

अर्कोतर्फ पोखरा एभेन्जर्सका लागि भने प्रतियोगिताको सुरुवात अपेक्षाअनुसार हुन सकेको छैन । पोखराले अहिलेसम्म खेलेका दुवै खेलमा पराजय बेहोरेको छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हारेको पोखरा दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पनि पराजित भएको थियो ।

लगातार दुई हारपछि दबाबमा रहेको पोखरा आज लुम्बिनीलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । लुम्बिनी भने आफ्नो जितको लय कायम राख्दै अंक थप्न चाहन्छ ।

आजका दुवै खेलले प्रतियोगिताको अंकतालिकामा टोलीहरूको अवस्था थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ । पहिलो खेलमा विराटनगर र जनकपुरबीच प्रतिस्पर्धा रोचक हुने देखिन्छ भने दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको पोखरा र लय कायम राख्न चाहने लुम्बिनीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

1

Scroll to Top