माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा १२४.५२ प्रतिशतले बढेको छ ।
कम्पनीको नाफा वृद्धिमा विद्युत् बिक्री आम्दानी बढ्नुका साथै वित्तीय खर्च घट्नुले मुख्य योगदान पुर्याएको देखिन्छ । समीक्षा अवधिमा विद्युत् बिक्रीबाट कम्पनीले १४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, कम्पनीको कुल मुनाफा १३ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १३ करोड ३६ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा कम्पनीको वित्तीय खर्च पनि उल्लेख्य घटेको छ । गत वर्ष ५ करोड ६५ लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर ३ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा रहेको ऋणात्मक रकम ३२ करोड २६ लाख रुपैयाँमा झरेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २५ रुपैयाँ ५२ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ ३८ पैसा कायम भएको छ । विद्युत् बिक्री आम्दानीमा वृद्धि र वित्तीय खर्चमा आएको कमीले कम्पनीको समग्र वित्तीय अवस्थामा सुधार देखिएको छ ।


