Banijya News

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने नारासहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ पोखरामा

1
1.0K Shares

व्यवसाय सुरु गर्ने चाहना हुँदाहुँदै पनि लगानी, ऋण, बजार र व्यावसायिक जोखिमका कारण अन्योलमा परेका युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले पोखरामा ‘स्टार्टअप नेपाल समिट–२०२६’ आयोजना गरिएको छ। ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने नारासहित नीति रिसर्च प्रालिले बुधबार आयोजना गरेको समिटमा लगानीका अवसर, चुनौती, वित्तीय पहुँच, व्यवसायको सुरक्षा र स्टार्टअप प्रवर्द्धनका विषयमा छलफल गरिएको हो।

कार्यक्रममा सहभागी वक्ताहरूले युवालाई जागिर खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने उद्यमी बनाउनुपर्नेमा जोड दिएका थिए। स्वदेशमै उपलब्ध स्रोतसाधनको सदुपयोग गर्दै नवीन सोच र प्रविधिको माध्यमबाट उत्पादन तथा व्यवसाय विस्तार गर्नुपर्ने उनीहरूको सुझाव थियो।

नीति रिसर्चकी अध्यक्ष शोभा ज्ञवालीले युवाका नवीन सोच र योजनालाई व्यावसायिक रूप दिन आवश्यक प्लेटफर्म उपलब्ध गराउनु समिटको मुख्य उद्देश्य रहेको बताइन्। उनका अनुसार युवालाई व्यवसाय सुरु गर्न आवश्यक मार्गदर्शन, योजना निर्माण, लगानीको खोजी र कार्यान्वयनमा सहयोग पुर्‍याउनुका साथै एआई तथा डिजिटल प्रविधिको प्रयोगबाट विश्व बजारसँग जोड्ने लक्ष्य राखिएको छ।

‘अब जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने उद्यमी बनाउने, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र विदेश पलायन हुन खोजिरहेको दक्ष जनशक्तिको ज्ञान तथा सीपलाई नेपालमै उपयोग गर्ने अभियान समिटको मुख्य लक्ष्य हो,’ उनले भनिन्।

ज्ञवालीले नयाँ पुस्तामा व्यवसाय गर्ने इच्छा भए पनि कस्तो व्यवसाय सुरु गर्ने, लगानी कहाँबाट जुटाउने र कसले सहयोग गर्छ भन्ने जानकारीको अभाव रहेको बताइन्। राज्य, निजी क्षेत्र र बैंकिङ क्षेत्रबाट उपलब्ध सुविधा तथा सहयोगबारे जानकारी दिएर युवालाई उद्यममा आकर्षित गर्नुपर्ने उनको भनाइ थियो।

उनले सरकारले व्यवसाय दर्ता तथा सञ्चालन प्रक्रिया सरल बनाउने, सहुलियतपूर्ण कर्जा सहज बनाउने र स्टार्टअपका लागि बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने सुझाव दिइन्। स्वदेशी उत्पादनको गुणस्तर, लेबलिङ, प्याकेजिङ र ब्रान्डिङमा ध्यान दिनुका साथै सरकारी निकायबाटै नेपाली उत्पादनको प्रयोग सुरु गर्नुपर्ने उनले बताइन्।

पहिलो चरणमा गण्डकी प्रदेशमा आयोजना गरिएको समिट अन्य छवटै प्रदेशमा पनि सञ्चालन गरिनेछ। प्रत्येक प्रदेशबाट उत्कृष्ट चारदेखि पाँचवटा स्टार्टअप छनोट गरी काठमाडौंमा अन्तिम सम्मेलन आयोजना गर्ने योजना रहेको ज्ञवालीले जानकारी दिइन्। उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्तासँग नेपाली स्टार्टअपलाई जोड्ने र लगानीको वातावरण निर्माण गर्ने लक्ष्य छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विगतमा प्रदान गरिएका अनुदानको अपेक्षाअनुसार सदुपयोग हुन नसकेको बताए। प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान र समान सहभागितामा आधारित अनुदानको व्यवस्था गरेको उल्लेख गर्दै उनले स्टार्टअप गण्डकी कार्यक्रमबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए। पुरानालाई आलोचना गरेर मात्र देश नबन्ने भन्दै उनले युवालाई नयाँ सम्भावना र योजनासहित अगाडि आउन आग्रह गरे।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्टार्टअप देशको आवश्यकता भएको बताए। महानगरले व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत उद्यमशीलता विकासका लागि तालिम, सुरुवाती पुँजी र बिजनेस क्लिनिकमार्फत परामर्श तथा सहजीकरण गर्दै आएको उनले जानकारी दिए।

नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद अमिर खानले प्रविधि र नवप्रवर्तनलाई उद्यमसँग जोड्न सके युवाका लागि स्वदेशमै पर्याप्त अवसर सिर्जना हुने बताए। गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव आभा श्रेष्ठ कर्णले पनि प्राकृतिक स्रोतसाधन र युवा जनशक्तिको उचित उपयोग गर्दै उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा बैंकका प्रतिनिधिहरूले उत्कृष्ट व्यावसायिक अवधारणा, स्पष्ट प्रस्तावना र प्रभावकारी बिजनेस प्लान भएका स्टार्टअपलाई बिनाधितोसमेत कर्जा उपलब्ध गराउन सकिने बताए। नबिल बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकाल र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख नारायण केसीले बैंकिङ क्षेत्रबाट उपलब्ध वित्तीय सेवा तथा कर्जा सुविधाबारे जानकारी गराएका थिए।

छलफलका क्रममा विद्यार्थीहरूले व्यवसाय असफल भए ऋणको जोखिम कसले व्यहोर्ने र विदेश जान सहजै ऋण पाइने तर स्वदेशमै व्यवसाय गर्न खोज्दा किन पर्याप्त सहयोग नपाइने भन्ने प्रश्न उठाएका थिए।

इन्जिनियर उमेशकुमार गुप्ताले यस्ता सम्मेलनले लगानीकर्ता, बैंक तथा नयाँ उद्यमीबीच सम्बन्ध स्थापित गर्ने र लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने बताए।

1

Scroll to Top