Banijya News

आईपीओदेखि लकइनसम्मका सबै सूचना अब ‘मेरो शेयर’मै

1
1.0K Shares

सेयर बजारका लगानीकर्ताले अब आईपीओ, हकप्रद सेयर, बोनस सेयर, लाभांश वितरणदेखि लकइन अवधिसम्मका सूचना एउटै डिजिटल प्लेटफर्म ‘मेरो शेयर’बाट प्राप्त गर्न सक्ने भएका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले धितोपत्र निष्कासन तथा वितरणसँग सम्बन्धित विभिन्न सूचना मेरो शेयरमार्फत उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

सीडीएससीका अनुसार धितोपत्र निष्कासनकर्ता कम्पनी, बिक्री प्रबन्धक तथा सेयर रजिस्ट्रारले सी–आस्बा (C-ASBA) सफ्टवेयर प्रयोग गरी सम्बन्धित सूचनाहरू प्रणालीमा प्रकाशित गर्नेछन् । यसरी प्रकाशित भएका सूचना लगानीकर्ताले आफ्नो मेरो शेयर खातामार्फत हेर्न सक्नेछन् ।

नयाँ व्यवस्थाअन्तर्गत प्राथमिक सेयर निष्कासन (आईपीओ), हकप्रद सेयर निष्कासन, बोनस सेयर, नगद लाभांश वितरण, ऋणपत्र तथा अन्य धितोपत्रको परिपक्वतामा हुने भुक्तानी (रिडेम्प्सन) र लकइन अवधिसम्बन्धी जानकारी समेटिएको छ ।

यसअघि यस्ता सूचना प्राप्त गर्न लगानीकर्ताले सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार वा विभिन्न सञ्चार माध्यमका सूचना खोज्नुपर्ने अवस्था थियो । अब भने सम्बन्धित संस्थाले प्रणालीमा सूचना प्रकाशित गरेपछि लगानीकर्ताले एउटै प्लेटफर्मबाट जानकारी लिन सक्नेछन् ।

यस व्यवस्थाले सेयर बजारसम्बन्धी सूचना प्रवाहलाई थप व्यवस्थित, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । विशेषगरी नयाँ लगानीकर्ता तथा ठूलो संख्यामा कम्पनीको सेयरमा लगानी गरेका व्यक्तिका लागि यो सुविधा उपयोगी हुने देखिन्छ ।

सीडीएससीको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार मेरो शेयरमा कुल ७२ लाख २२ हजार ४८० प्रयोगकर्ता दर्ता भएका छन् । तीमध्ये ५० लाख ७६ हजार ३५९ जना सक्रिय प्रयोगकर्ता रहेका छन् ।

यति ठूलो संख्यामा लगानीकर्ताले प्रयोग गरिरहेको डिजिटल प्रणालीमा थप सूचना सुविधा उपलब्ध हुनुले पुँजी बजारको डिजिटल सेवामा सुधार आउने अपेक्षा गरिएको छ ।

1

Scroll to Top