Banijya News

सामाजिक सुरक्षा ऐन संशोधन हुँदै, अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि योगदानमा राज्यको सहयोग

1
1.0K Shares

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गर्दै अनौपचारिक क्षेत्र, स्वरोजगार, मौसमी तथा आउटसोर्समार्फत काम गर्ने श्रमिकको सामाजिक सुरक्षा अधिकार थप बलियो बनाउने भएको छ । यसका लागि सरकारले अध्यादेशमार्फत ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ संशोधन गर्ने तयारी गरेको छ ।

श्रमिकको रोजगारीको स्वरूप वा रोजगारदाता परिवर्तन भए पनि सामाजिक सुरक्षा सुविधा निरन्तर कायम रहने, न्यून आय भएका श्रमिकलाई सरकारले योगदानमा सहवित्तीय सहयोग उपलब्ध गराउन सक्ने तथा सामाजिक सुरक्षा कोषको लगानीको क्षेत्र विस्तार गर्नेसहितका नयाँ व्यवस्था संशोधन मस्यौदामा प्रस्ताव गरिएको छ ।

सरकारले तयार पारेको प्रारम्भिक मस्यौदाले सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुन कठिनाइ भोगिरहेका अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिलाई लक्षित गरेको छ । यसले योगदान प्रणालीलाई रोजगारीको प्रकृति, आम्दानीको नियमितता र योगदान क्षमताअनुसार लचिलो बनाउने लक्ष्य राखेको छ ।

मस्यौदामा आउटसोर्समार्फत काममा लगाइएका श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न मुख्य रोजगारदाता र श्रम आपूर्तिकर्ताको जिम्मेवारीसमेत स्पष्ट पारिएको छ । प्रस्तावित दफा ४क अनुसार इजाजतपत्र प्राप्त श्रम आपूर्तिकर्ताले आफूले उपलब्ध गराएका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनुपर्नेछ । साथै, श्रमिक र रोजगारदाताको योगदान रकम तोकिएको समयभित्र कोषमा जम्मा गरी त्यसको नियमित विवरण मुख्य रोजगारदातालाई उपलब्ध गराउनुपर्नेछ ।

मुख्य रोजगारदाताले श्रम आपूर्तिकर्तासँग सम्झौता गर्दा नै श्रमिकको सूचीकरण, योगदान जम्मा, प्रमाण उपलब्ध गराउने तथा अनुपालन अनुगमनसम्बन्धी सर्त स्पष्ट राख्नुपर्नेछ । योगदान रकम जम्मा नभएको पाइए आपूर्तिकर्तालाई लिखित निर्देशन दिनुका साथै सामाजिक सुरक्षा कोषलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

आपूर्तिकर्ताले योगदान रकम नबुझाएको कारण श्रमिक सामाजिक सुरक्षा सुविधाबाट वञ्चित नहुने मस्यौदामा उल्लेख छ । त्यस्तै, श्रम आपूर्तिकर्ताको दायित्व देखाएर मुख्य रोजगारदाता श्रम कानुनअनुसार आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

यसैगरी, अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदान प्रणालीलाई लचकदार बनाइने भएको छ । संशोधित दफा ५, ६ र ७ अन्तर्गत दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक, मौसमी वा अन्य तोकिएको अवधिमा योगदान जम्मा गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । यसले नियमित मासिक आम्दानी नहुने कृषक, स्वरोजगार व्यक्ति, आंशिक समय काम गर्ने तथा मौसमी श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा सहभागी हुन सहज बनाउने अपेक्षा गरिएको छ ।

न्यून आय भएका अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार व्यक्ति, महिला उद्यमी, कृषक तथा अन्य लक्षित समूहलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सरकारले बजेटको सीमाभित्र रहेर योगदानमा सहवित्तीय सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था पनि मस्यौदामा छ । यसबाट योगदान गर्न आर्थिक कठिनाइ भोगिरहेका वर्गलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन राज्यले आर्थिक सहयोग गर्न सक्नेछ ।

त्यस्तै, अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका व्यक्तिले आफ्नो आय र आवश्यकताअनुसार कोषले निर्धारण गरेका एक वा एकभन्दा बढी सामाजिक सुरक्षा योजना छनोट गर्न पाउनेछन् । मौसमी, कार्यगत, आंशिक समय तथा घरमा आधारित काम गर्ने वा अनियमित आम्दानी भएका श्रमिकको वास्तविक योगदानयोग्य आयका आधारमा योगदान विधि निर्धारण गर्न सकिने प्रस्ताव गरिएको छ । तर रोजगारदाताले व्यहोर्नुपर्ने योगदानको दायित्व श्रमिकमाथि सार्न वा घटाउन भने पाइने छैन ।

रोजगारदाता वा रोजगारीको स्वरूप परिवर्तन हुँदा सामाजिक सुरक्षा अभिलेखमा निरन्तरता कायम गर्ने व्यवस्था पनि संशोधनको महत्त्वपूर्ण पक्ष हो। प्रस्तावित दफा ५क अनुसार योगदानकर्ताले रोजगारदाता परिवर्तन गरेमा, औपचारिक रोजगारीबाट अनौपचारिक क्षेत्रमा गएमा, स्वरोजगार सुरु गरेमा वा एकभन्दा बढी रोजगारदातासँग काम गरेमा पनि सामाजिक सुरक्षा सूचीकरण नम्बर र योगदान अभिलेख कायम रहनेछ ।

कोषले विभिन्न रोजगारदाता तथा आयस्रोतबाट प्राप्त योगदानको एकीकृत अभिलेख राख्ने, दोहोरो सूचीकरण रोक्ने र योगदानकर्तालाई विद्युतीय माध्यमबाट आफ्नो योगदान विवरण तथा प्राप्त गर्न योग्य सुविधाको जानकारी उपलब्ध गराउनुपर्नेछ ।

योगदान रकम समयमा जम्मा हुन नसक्ने अवस्थालाई समेत मस्यौदाले सम्बोधन गरेको छ । हाल महिना समाप्त भएको २५ दिनभित्र योगदान रकम जम्मा नगरेमा १० प्रतिशत ब्याजसहित असुल गर्ने व्यवस्था छ । तर बैंकिङ प्रणाली वा कोषको विद्युतीय प्रणालीमा प्राविधिक समस्या तथा प्रमाणित काबुबाहिरको परिस्थितिका कारण रकम जम्मा हुन नसकेमा अवरोध हटेको सात कार्यदिनभित्र रकम बुझाए ब्याजमा आंशिक वा पूर्ण छुट दिन सकिने प्रस्ताव गरिएको छ । रोजगारदाताको लापरबाही, जानाजानी रकम रोक्का वा श्रमिकको पारिश्रमिकबाट कट्टा गरेर पनि कोषमा नबुझाएको अवस्थामा भने यस्तो छुट पाइने छैन ।

यसका अतिरिक्त सामाजिक सुरक्षा कोषको लगानी क्षेत्र विस्तार गर्ने प्रस्ताव पनि मस्यौदामा समेटिएको छ । ऐनको दफा ३२ संशोधन गरी ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थासँगै इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंकमा समेत कोषको रकम लगानी गर्न पाउने व्यवस्था गर्न लागिएको हो ।

यस्तो लगानी गर्दा कोषले योगदानकर्ताप्रतिको दायित्व, तरलता, लगानी अवधि, पुँजी संरक्षण, क्रेडिट रेटिङ तथा लगानी जोखिमको सीमा परीक्षण गर्नुपर्नेछ ।

सरकारी स्वामित्व वा समर्थन रहेको आधारमा मात्रै साख परीक्षणबाट छुट नपाइने व्यवस्था गरिएको छ । साथै, पूर्वाधार विकास बैंकमा लगानी गर्ने निर्णय ऐच्छिक हुने र विद्यमान लगानी सीमा यथावत् रहने प्रस्ताव छ ।

प्रस्तावित संशोधन कार्यान्वयनमा आएमा सामाजिक सुरक्षा प्रणाली औपचारिक क्षेत्रका नियमित तलबभोगी श्रमिकमा मात्र सीमित नरही अनौपचारिक, स्वरोजगार र अस्थायी प्रकृतिका कामदारसम्म विस्तार हुने अपेक्षा गरिएको छ । यसले श्रमिकको रोजगारी परिवर्तनसँगै सामाजिक सुरक्षा अधिकार गुम्ने समस्या न्यूनीकरण गर्नुका साथै सामाजिक सुरक्षा कोषको लगानी विविधीकरणमा समेत सहयोग पुर्‍याउन सक्नेछ ।

1

Scroll to Top