Banijya News

नयाँ दिल्ली पुगे प्रधानमन्त्री बालेन शाह, वाणिज्य राज्यमन्त्रीले गरे स्वागत

1
1.0K Shares

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा निस्किएका शाहलाई भारत सरकारले विशेष स्वागत गरेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीचको आपसी सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ ।

नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री शाह ताज होटलमा बस्ने कार्यक्रम तय भएको छ । भ्रमणको पहिलो दिन आइतबार साँझ उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उक्त भेट प्रधानमन्त्री शाह बसेको ताज होटलमै हुनेछ ।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाह उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफलमा सहभागी हुनेछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो राजकीय भारत भ्रमण हो । भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहयोगका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

1

Scroll to Top