Banijya News

नेपाललाई भारतको २ खर्ब ४० अर्ब विकास सहायता घोषणा

1
1.0K Shares

भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भारतले उक्त सहायता प्याकेज घोषणा गरेको हो ।

नेपाल र भारतबीच भएको उच्चस्तरीय द्विपक्षीय वार्तापछि जारी संयुक्त विज्ञप्तिमा सहायता रकमको विवरण सार्वजनिक गरिएको छ । कुल सहायता रकममध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहने उल्लेख छ ।

विज्ञप्तिअनुसार भारतले ३ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् करिब ५६ अर्ब नेपाली रुपैयाँ अनुदानस्वरूप उपलब्ध गराउनेछ । उक्त अनुदान नेपालमा विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजना निर्माणमा खर्च गरिने जनाइएको छ ।

त्यस्तै, कुल सहायता प्याकेजको ठूलो हिस्सा अर्थात् १ खर्ब ८४ अर्ब रुपैयाँ भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुनेछ । उक्त ऋण नेपालको ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न परियोजनामा लगानी गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

भारतको यो सहायता घोषणाले नेपालको पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण तथा ऊर्जा क्षेत्रका परियोजनामा लगानी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुई देशबीच विकास सहकार्य र आर्थिक साझेदारीलाई थप विस्तार गर्ने विषयमा समेत छलफल भएको छ ।

1

Scroll to Top