Banijya News

सिलिगुढी–झापा १२ अर्ब लगानीमा पेट्रोलियम पाइपलाइन निर्माण गरिने

1
1.0K Shares

नेपाल र भारतबीचको ऊर्जा पूर्वाधार सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यसहित नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण प्रक्रिया अघि बढेको छ। भारतको पश्चिम बंगालस्थित सिलिगुढीदेखि नेपालको झापाको चारआलीसम्म जोडिने ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को सोमबार संयुक्त रूपमा शिलान्यास गरिएको हो।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत रिमोट थिचेर परियोजनाको शुभारम्भ गरेका हुन्। करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना भारत सरकारको शतप्रतिशत अनुदानमा निर्माण हुनेछ। नेपाल र भारतबीच भएको सरकार–सरकार (जीटुजी) सम्झौताअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) ले प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

परियोजना प्रमुख सुरेन्द्र महतोका अनुसार निर्माण सुरु भएको मितिले ५४ महिनाभित्र अर्थात् साढे चार वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कुल ४९ दशमलव ६ किलोमिटर लामो पाइपलाइनमध्ये भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १४ दशमलव ६ किलोमिटर रहनेछ।

भारतको सिलिगुढीस्थित आईओसीको टर्मिनलबाट सुरु हुने पाइपलाइन मेची पुलनजिकैबाट नेपाल प्रवेश गर्नेछ। त्यसपछि झापाको मेचीनगर नगरपालिका–६, १० र ११ हुँदै वडा नं. १३ स्थित चारआलीमा निर्माण हुने नयाँ टर्मिनलमा पुगेर जोडिनेछ।

परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनको काम नेपाल आयल निगमले यसअघि नै सम्पन्न गरिसकेको छ। सरकारले २०७४ सालमै चारआलीमा २३ बिघा तीन कट्ठा १३ धुर जग्गा व्यवस्थापन गरी फिल्ड कार्यालयसमेत स्थापना गरेको थियो। निगमले पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र अन्य प्रारम्भिक तयारी पूरा गरिसकेको जनाएको छ। अब आईओसीले पाइपलाइन बिछ्याउने र भण्डारण गृह निर्माणको काम अघि बढाउनेछ।

निर्माण हुने पाइपलाइन आठ इञ्च व्यासको कार्बन स्टिलबाट तयार गरिनेछ। यसलाई जमिनको सतहबाट कम्तीमा १ दशमलव २ मिटर गहिराइमा गाडिने योजना छ। इन्धन चुहावट तथा सम्भावित दुर्घटना नियन्त्रणका लागि आधुनिक स्काडा प्रणाली र फाइबर अप्टिक सेन्सिङ प्रविधिसमेत जडान गरिनेछ।

चारआलीमा निर्माण हुने ग्रिनफिल्ड टर्मिनलको कुल भण्डारण क्षमता ३२ हजार ८०० किलोलिटर रहनेछ। परियोजनाका फिल्ड कार्यालयका प्रशासन प्रमुख मनिष न्यौपानेका अनुसार यसमा डिजेल र पेट्रोल भण्डारणका लागि छुट्टाछुट्टै ट्याङ्की निर्माण गरिनेछ। टर्मिनलमा आधुनिक स्मार्ट भर्टिकल ट्याङ्की, एकैपटक आठवटा बेबाट इन्धन भर्न सकिने ट्रक लोडिङ सुविधा र अग्नि नियन्त्रणका लागि दुईवटा पानी तथा फोम ट्याङ्की प्रणाली रहनेछन्।

वातावरणीय प्रभाव न्यूनीकरणलाई पनि परियोजनाले प्राथमिकता दिएको छ। पाइपलाइन विस्तारका क्रममा मेची, निन्दा, हडिया र फुलबासालगायत नदी पार गर्नुपर्ने भएकाले नदीको प्राकृतिक बहाव र जलचरमा असर नपुगोस् भनेर होरिजन्टल डिरेक्सनल ड्रिलिङ (एचडीडी) प्रविधि प्रयोग गरिनेछ। त्यस्तै, टर्मिनलबाट निस्कने इन्धनको वाष्पलाई पुनः इन्धनमा रूपान्तरण गर्न भेपर रिकभरी सिस्टम र तेल मिसिएको पानी प्रशोधन गर्न आयल वाटर सेपरेटर जडान गरिनेछ।

यस परियोजनाको अवधारणा २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा अघि बढेको थियो। त्यसबेला प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच पाइपलाइन निर्माणसम्बन्धी सहमति भएको थियो। उक्त सहमतिलाई कार्यान्वयन गर्न २०८१ असोजमा नेपाल आयल निगम र आईओसीबीच औपचारिक सम्झौता भएको थियो।

1

Scroll to Top