नेपालको भुक्तानी प्रणालीमा क्यूआर कोडमार्फत हुने कारोबारले तीव्र गति लिएको छ । नगदरहित कारोबारप्रति सर्वसाधारणको आकर्षण बढ्दै जाँदा क्यूआर भुक्तानीले नयाँ उचाइ हासिल गरेको हो । कारोबार रकम र संख्यामा समेत उल्लेख्य वृद्धि देखिएको क्यूआर भुक्तानीले कारोबार संख्याका आधारमा मोबाइल बैंकिङलाई समेत पछि पारेको छ । यता परम्परागत विद्युतीय भुक्तानीका केही माध्यममा भने कारोबार घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनाको भुक्तानी प्रणालीसम्बन्धी तथ्यांकअनुसार एक महिनामै क्यूआर कोडमार्फत २ खर्ब ७ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत भदौमा यस्तो कारोबार १ खर्ब ६७ अर्ब ९३ करोड ३० लाख रुपैयाँ थियो। यसअनुसार एक महिनामै क्यूआर कारोबार रकम ३९ अर्ब ६१ करोड १० लाख रुपैयाँ अर्थात् २३.५९ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको असोजमा क्यूआरमार्फत १ खर्ब २१ अर्ब ७७ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यसरी एक वर्षको अवधिमा क्यूआर कारोबार रकम ७०.४२ प्रतिशतले बढेको छ । यसले दैनिक उपभोग्य वस्तुको खरिददेखि विभिन्न सेवा तथा व्यवसायिक भुक्तानीसम्म क्यूआरको प्रयोग विस्तार हुँदै गएको संकेत गर्छ ।
कारोबार संख्यामा पनि क्यूआरले नयाँ उपलब्धि हासिल गरेको छ । असोजमा क्यूआरमार्फत ७ करोड ८१ लाख ४४ हजार ६२९ पटक कारोबार भएको छ । सोही अवधिमा मोबाइल बैंकिङमार्फत ६ करोड ५९ लाख ६७ हजार २३९ पटक कारोबार भएको छ । कारोबार संख्यामा क्यूआर अगाडि देखिए पनि रकमका आधारमा भने मोबाइल बैंकिङको हिस्सा ठूलो छ । असोजमा मोबाइल बैंकिङमार्फत ६ खर्ब २ अर्ब ९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
डिजिटल वालेटको प्रयोग पनि विस्तार हुँदै
क्यूआर भुक्तानीसँगै डिजिटल वालेटमार्फत हुने कारोबारमा समेत वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार असोजमा डिजिटल वालेटमार्फत ५ करोड ४८ लाख ८२ हजार ९६६ पटक कारोबार भएको छ । भदौमा यस्तो कारोबार संख्या ५ करोड १४ लाख ९४ हजार ९४९ थियो ।
कारोबार रकम पनि भदौको ४९ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट बढेर असोजमा ५५ अर्ब ८२ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो एक महिनामा १३.७१ प्रतिशतको वृद्धि हो। त्यस्तै, असोज मसान्तसम्म डिजिटल वालेट खाताको संख्या २ करोड ८४ लाख १८ हजार ७५३ पुगेको छ । भदौ मसान्तमा यस्तो संख्या २ करोड ८१ लाख ५० हजार ५०८ थियो ।
शाखारहित बैंकिङ र एटीएमको संख्या घट्दो
डिजिटल भुक्तानीका माध्यम विस्तार भइरहँदा शाखारहित बैंकिङ केन्द्रको संख्या भने घट्दै गएको छ । गत वर्ष असोजमा ८०६ वटा रहेका शाखारहित बैंकिङ केन्द्र चालु आर्थिक वर्षको असोज मसान्तमा घटेर ६२२ मा सीमित भएका छन् ।
त्यस्तै, एटीएम मेसिनको संख्या पनि गत वर्ष असोजको ५ हजार २८२ बाट घटेर ५ हजार ९७ मा झरेको छ । यद्यपि एटीएमबाट नगद झिक्ने कारोबार रकम भने भदौको तुलनामा असोजमा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
इन्टरनेट बैंकिङको कारोबार आधाभन्दा बढीले घट्यो
अन्य डिजिटल माध्यमको तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने कारोबारमा उल्लेख्य गिरावट देखिएको छ । भदौमा २२ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा असोजमा घटेर १० अर्ब २९ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ । यो एक महिनामा ५४.७४ प्रतिशतको गिरावट हो ।
कारोबार संख्या पनि भदौको ६ लाख २४ हजार ४५४ बाट घटेर असोजमा ४ लाख ८३ हजार ४६२ पुगेको छ । यद्यपि इन्टरनेट बैंकिङको दर्ता संख्या भने २६ लाख ६ हजार ८५० पुगेको छ ।
मोबाइल बैंकिङमा पनि दर्ता संख्या बढेअनुसार कारोबार विस्तार हुन सकेको छैन । भदौ मसान्तमा ३ करोड ४ लाख ७३ हजार २५१ रहेको मोबाइल बैंकिङको दर्ता संख्या असोज मसान्तमा बढेर ३ करोड ७ लाख ६९ हजार ४४४ पुगेको छ ।
तर, कारोबार संख्या भने भदौको ८ करोड ११ लाख ९४ हजार ४४० बाट घटेर असोजमा ६ करोड ५९ लाख ६७ हजार २३९ मा झरेको छ । कारोबार रकमसमेत ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँबाट घटेर ६ खर्ब २ अर्ब ९ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ ।
समग्रमा राष्ट्र बैंकको तथ्यांकले भुक्तानी प्रणालीमा क्यूआर र डिजिटल वालेटको प्रयोग बढ्दै गएको देखाएको छ । कारोबार संख्यामा क्यूआरले मोबाइल बैंकिङलाई उछिन्नुले साना तथा दैनिक भुक्तानीमा यसको लोकप्रियता बढेको संकेत गर्छ । यद्यपि, मोबाइल बैंकिङ कारोबार रकममा अगाडि रहेकाले बैंकिङ प्रणालीमा यसको महत्त्वपूर्ण भूमिका कायमै रहेको देखिन्छ ।


