सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । विद्युत् उत्पादनलाई दिगो, सन्तुलित र व्यवस्थित बनाउने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न ऊर्जा स्रोतको उत्पादन हिस्सा निर्धारण गरी नयाँ नीति ल्याउने तयारी गरेको हो ।
नयाँ ऊर्जा मिश्रण नीतिमार्फत नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को हिस्सा निर्धारण गरिनेछ । यसले आगामी दशकमा मुलुकको विद्युत् उत्पादन संरचना कस्तो हुने भन्ने आधार तय गर्नेछ । साथै, लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्ने बाटोसमेत खुल्ने अपेक्षा गरिएको छ ।
हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट पुगेको छ । तर, विद्युत् उत्पादनमा नदी प्रवाही आयोजनाको हिस्सा बढी रहेकाले वर्षायाममा उत्पादन पर्याप्त हुने र हिउँदमा घट्ने समस्या देखिँदै आएको छ । यस्तो मौसमी असन्तुलन अन्त्य गर्न उत्पादनका विभिन्न स्रोतलाई समेटेर ऊर्जा मिश्रण तयार गर्नुपर्ने आवश्यकता देखिएको हो ।
यसअघि सरकारले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका आधारमा ऊर्जा मिश्रण निर्धारण गरेको थियो । तर, उत्पादनको लक्ष्य बढाएर ३० हजार मेगावाट पुर्याएपछि पुरानो नीतिगत संरचना पर्याप्त नहुने देखिएको छ । सोहीअनुसार सरकारले नयाँ लक्ष्य र आवश्यकताअनुसार ऊर्जा स्रोतको उत्पादन हिस्सा पुनः निर्धारण गर्न लागेको हो ।
गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया प्रभावित भएको थियो । त्यसयता नदी प्रवाही आयोजनासँगै अर्धजलाशययुक्त आयोजनाको पीपीए प्रक्रिया पनि रोकिएको छ । विद्युत् बिक्रीको सुनिश्चितता नहुँदा निजी क्षेत्रका जलविद्युत् आयोजनाले लगानी जुटाउन कठिनाइ भोगिरहेका छन् । विशेषगरी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन आवश्यक पर्ने विद्युत् बिक्री सम्झौता नहुँदा आयोजना निर्माणको प्रक्रिया प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ४०४ वटा नदी प्रवाही आयोजनासँग ६ हजार ७१३.४४ मेगावाट र ५१ वटा अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ । त्यस्तै, एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाटको पीपीए भएको छ ।
तर, थप २८१ वटा आयोजनाका कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन् । नयाँ ऊर्जा मिश्रण नीति आएपछि यी आयोजनाको पीपीए प्रक्रिया अघि बढ्ने र निजी क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सरकारको ३० हजार मेगावाट उत्पादन लक्ष्य पूरा गर्न उत्पादन क्षमता विस्तार मात्रै पर्याप्त हुने छैन । उत्पादित विद्युत्को आन्तरिक खपत बढाउनु, प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्नु र भारत तथा बंगलादेशमा निर्यातको बजार सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ । नयाँ नीतिले जलविद्युत्मा मात्रै निर्भर रहने अवस्थालाई परिवर्तन गर्दै सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको विकासलाई समेत प्राथमिकता दिनेछ ।
जलाशययुक्त र पम्प स्टोरेज आयोजनाले ऊर्जा भण्डारण तथा हिउँदको माग व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यसबाट वर्षायाममा बढी हुने र हिउँदमा कम हुने विद्युत् उत्पादनबीच सन्तुलन कायम गर्न सकिने विश्वास सरकारको छ ।
नयाँ ऊर्जा मिश्रण नीति विद्युत् उत्पादनको लक्ष्य पूरा गर्ने आधार मात्र नभई निजी लगानी आकर्षित गर्ने, पीपीए प्रक्रिया व्यवस्थित गर्ने र क्षेत्रीय विद्युत् व्यापार विस्तार गर्ने महत्त्वपूर्ण नीतिगत कदमका रूपमा हेरिएको छ ।


