कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र अर्थात काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल नगरपालिका ७ का स्थानिय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो ।
त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९० लाख रुपैयाँ बराबरको ९० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो ।
स्थानिय बासिन्दाहरूले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन बन्द छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मंसिर १५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि मंसिर २४ गतेसम्म लम्बिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।


