महालेखा नियन्त्रकको कार्यालयमा यति बेला एक जोडी श्रीमान् श्रीमती (‘पावर कलप’) को रजगज देखिएको छ । मलेनिकाको कर्मचारी प्रशासन शाखाले केही दिनमै लेखाका उपसचिवहरूको थप सरुवा गर्दै छ । उपसचिवहरूको थप सरुवा एक चरणमा गरिसकेको छ भने अर्को चरणमा केही दिनमै गर्ने तयारी गर्दै छ । यही बेला श्रीमान् निर्मल न्यौपानेले आफू र आफ्नी पत्नीकोलागि पहुँचवालाबाट फोन लगाउन र दौडधुप गर्न सुरु गरेका छन् ।
श्रीमान् न्यौपाने र श्रीमती रोजिना कोइराला दुवै लेखाका उपसचिव हुन । न्यौपाने हाल सुनसरी कोलेनिकामा छन् भने श्रीमती कोइराला मलेनिकामा कार्यरत छन् । न्यौपानेले अहिले एकै पटक दुई वटा प्रयास गरिहरेका छन् । आफूलाई सुनसरीमा टिकाउन खोजिरहेका छन् भने श्रीमती रेजिनालाई लोकसेवा आयोगको कार्यालयमा पठाउन लागिपरेका छन् ।
निर्मल विपद् प्राधिकरणमा बसेर सर्लाही कोलेनिका पुगेका थिए । त्यहाँ आर्थिक उपार्जन गरेर सुनसरी पुगे । सुनसरी आकर्षक कार्यालय मानिन्छ । त्यसलाई क श्रेणीको कार्यालय मानिन्छ । सुनसरीमा उनी २ वर्ष बसिसकेका छन् । अरू अरू एक वर्ष उनले प्रयास गरिरहेका छन् । श्रीमती कोइरालालाई लोकसेवा आयोग पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई सम्म पुगेका छन् । राई गृह सचिव भएको बेला निर्मल गृहमा कार्यरत थिए । त्यही साइनो प्रयोग गरेर न्यौपानेले अख्तियारबाट मलेनिकाका सचिव शोभाकान्त पौडेल सम्मलाई फोन गर्न लगाएका छन् । न्यौपानेको पहिलो प्रयास श्रीमतीलाई परराष्ट्रमा पठाउनु थियो ।
परराष्ट्रमा पठाउन नसके पछि लोकसेवा आयोग पठाउन उनले दोस्रो प्रयास गरिरहेका छन् । लोकसेवा आयोगमा जान अहिले लेखाका केही उपपसचिवहरुले लबिङ गरिरहेका छन् । रेजिनालाई लोकसेवामा पठाउन निर्मलले साम दाम दण्ड भेद प्रयोग गरिरहेका छन्–स्रोत भन्छ । रेजिनालाई लेखाको अनुभव छैन । उनी केन्द्रमा मात्र बसेकी छन् । जिल्ला तथा आयोजना कार्यालयमा गएकी छैनन् । केन्द्रको एउटा शाखामा बसेर लेखाबारे व्यवहारिक ज्ञान हुँदैन । त्यसैले लोकसेवा पुगिन भने उनी अपरिपक्व हुने निश्चित छ ।
लोकसेवा आयोग पुग्न अर्का उपसचिव लावण्य राज दाहाल पनि दौडधुपमा छन् । उनी एकदमै अस्थिर कर्मचारी भनेर चिनिन्छन् । उनी वैकल्पिक ऊर्जा, मेलम्ची खानेपानी, सतर्कता, भूमि व्यवस्था मन्त्रालय हुँदै कुमारी चोक अड्डामा पुगेका छन् । पाँचथर पुगेका बेला उनले दोस्रो बिहे गरेका थिए । त्यसैले उनको चरित्र माथि पनि प्रश्न उठेको छ । कुमारी चोक हुँदा पनि केही समस्या देखिएको लावण्यका साथीहरू बताउँछन् ।
लेखाका अर्का उपसचिव गायत्रीरमण खनालले पनि यती बेला अर्को आकर्षक कार्यालय (ठुलो आयोजना) ताकेका छन् । यसअघि उनी राहदानी विभागमा हुँदा पासपोर्ट काण्डमा परेका थिए । उपसचिवमा बढुवा हुने बित्तिकै उनले पहिलो पोस्टिङ परराष्ट्रमा गराउन सफल भए । लेखाका उपसचिवहरू सकेसम्म परराष्ट्रमा जान चाहन्छन् । परराष्ट्र जान नपाए पछि अन्य कार्यालयहरू खोज्न थाल्छन् । परराष्ट्रमा सरुवा गराउन सफल भएपछि खनाल दिल्ली पुगे । दिल्लीबाट फर्कने बेला ढुवानी खर्च समेत उठाएका थिए । खनाल पछि दिल्ली पुगेका उपसचिवले खनालले उठाएको ढुवानी खर्च असुल गरी राजस्वमा दाखिला गरेका थिए । हाल खनाल रक्षा मन्त्रालयमा कार्यरत छन् । अब आकर्षक कार्यालयमा जान उनी पूर्व मुख्य सचिव शंकरदास वैरागीको पहुँच प्रयोग गरिरहेका छन् ।


