सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरा फराकिलो बनाउँदै जाने क्रममा अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि अनुसन्धानको राडारमा परेका छन् । सरकारले शर्मामाथि समेत छानबिन अघि बढाउने तयारी गरेको दाबी गरिएको छ ।
सरकारले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरिएको छ । यसपछि पूर्वअर्थमन्त्री शर्मासँग जोडिएको पुरानो विवादित रकम फुकुवा प्रकरण पनि पुनः अनुसन्धानको घेरामा आउन सक्ने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, पृथ्वीबहादुर शाहले अमेरिकाबाट नेपाल ल्याएको भनिएको करिब ४० करोड रुपैयाँको स्रोत खुलाउन नसकिएको विषयमा तत्कालीन अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको घटनामाथि अनुसन्धान केन्द्रित हुन सक्नेछ । शर्मा अर्थमन्त्री रहेका बेला उक्त रकम फुकुवा गरिदिन राष्ट्र बैंकलाई लिखित निर्देशन दिइएको आरोप त्यसताका सार्वजनिक भएको थियो ।
तर, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले रकमको स्रोत र कानुनी आधार स्पष्ट नभएसम्म फुकुवा गर्न नसकिने अडान लिएको बताइन्छ । यही विषयलाई लिएर तत्कालीन अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच सम्बन्ध चिसिएको थियो । पछि सरकारले अधिकारीलाई पदबाट हटाउने निर्णय गरे पनि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उनी पुनः पदमा फर्किएका थिए । हाल उक्त प्रकरणलाई सम्पत्ति शुद्धीकरणसँग जोडेर पुनः हेर्ने तयारी भएको स्रोतको दाबी छ ।


