Banijya News

घरेलु मदिरा ब्रान्डिङलाई वैधानिक बनाउन कार्यविधि तयार

1
1.2K Shares

सरकारले घरेलु मदिरा ब्रान्डिङलाई वैधानिक बनाउन कानुन बनाएको छ । उद्योग वाणिज्य आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले रैथाने/स्थानीय/परम्परागत मदिरा उत्पादन कार्यका लागि उद्योग स्थापनार्थ इजाजत प्रदान गर्ने तथा उद्योग सञ्चालनका लागि कार्यविधि तयार गरेको हो ।

उक्त कार्यविधि एक महिनाभित्र कार्यान्वयन गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए ।

‘यसको कार्यविधि बनिसकेको छ । एक–दुई दिनभित्र उद्योग विभागको वेबसाइटमा राख्छौँ, त्यसपछि औद्योगिक प्रवर्द्धन बोर्डको बैठकबाट यो कार्यविधि कार्यान्वयनमा ल्याउँछौँ,’ मन्त्री भण्डारीले भने, ‘यो महिनाभित्रै बोर्डको बैठक हुन्छ । त्यहीँबाट निर्णय हुन्छ ।’

सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत यसको उत्पादन, ब्रान्डिङ, बजारीकरण र बिक्री गर्ने कानुनी व्यवस्थाको घोषणा गरेको थियो । व्यवसायी, उत्पादक, जनप्रतिनिधि र व्यापक रूपमा आम सर्वसाधारणले माग गरेपछि सरकारले घरेलु रक्सीलाई ब्रान्डिङ गर्ने घोषणा गरेको थियो ।

चालु वर्षको बजेटमार्फत मन्त्रालयअन्तर्गत घरेलु मदिराको ब्रान्डिङ तथा निर्यात प्रवर्द्धन कार्यक्रमलाई ४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी उद्योग विभागअन्तर्गत सञ्चालन गरिने घरेलु मदिरा ब्रान्डिङ तथा प्रवर्द्धन कार्यक्रमलाई ५ लाख ३१ हजार छुट्ट्याएको छ । कुल ५ लाख ३५ हजार रुपैयाँ घरेलु मदिरा ब्रान्डिङ कार्यक्रमका लागि विनियोजन भएको मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top