Banijya News

सेयर कर्जा ३८ अर्बले बढे पनि बजारमा आएन उछाल, अन्योलमा लगानीकर्ता

1
1.3K Shares

गत आर्थिक वर्षको ११ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ५७ करोड रुपैयाँ सेयर कर्जा थप प्रवाह गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.८ प्रतिशतले बढी हो।

तर, सेयर कर्जाको यति ठूलो वृद्धि हुँदाहुँदै पनि पुँजी बजार अपेक्षाअनुसार बढ्न सकेको छैन। स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष धर्मराज सापकोटाका अनुसार सेयर धितोमा प्रवाह भएको सम्पूर्ण कर्जा पुँजी बजारमै लगानी नभएका कारण बजारमा प्रत्यक्ष प्रभाव देखिएको छैन।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत जेठसम्म २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर कर्जा १७ प्रतिशतले बढेको छ भने २५ लाखभन्दा कमको कर्जा १०.४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, १ करोड रुपैयाँभन्दा बढीको कर्जा ५८.१ प्रतिशतले र ५० लाखदेखि १ करोडसम्मको कर्जा २३.१ प्रतिशतले बढेको छ।

ब्याजदर निरन्तर घटिरहेको र वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले बैंकहरूले लगानीकर्तालाई सेयर कर्जा लिन प्रोत्साहित गरिरहेका छन्। साना लगानीकर्ताले पनि यस अवधिमा कर्जा लिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

सापकोटाले पछिल्ला वर्षमा ओभरड्राफ्टलगायत शीर्षकमा प्रवाह भएको कर्जा कम मात्र पुँजी बजारमा आएको बताए। उनका अनुसार, “सेयर कर्जा बढेको छ, तर बजारमा अपेक्षित माग बढेको छैन। यसले सबै कर्जा पुँजी बजारमै आएन कि भन्ने शंका गर्ने ठाउँ दिएको छ।”

स्टक ब्रोकर्स एसोसिएसनका अर्का पूर्वअध्यक्षले पनि बजारमा अनुकूल परिस्थिति हुँदाहुँदै आत्मविश्वास अभावकै कारण लगानीकर्ताले ठूलो मात्रामा लगानी नगरेको बताए।

नेप्से परिसूचक मौद्रिक नीति सार्वजनिक भएपछि केही समय ३ हजारभन्दा माथि पुगे पनि हाल २ हजार ७ सय ६७ अंकमा झरेको छ। लगानीकर्ता भने बजारमा ठूलो गिरावट नभएकाले मार्जिन कल नआएको बताउँछन्।

1

Scroll to Top