Banijya News

लुम्बिनीमा छ अर्ब लागतमा अत्याधुनिक इन्धन डिपो बनाउँदै निगम

1
1.2K Shares

नेपाल आयल निगमले लुम्बिनीलाई एक महिना धान्ने पेट्रोलियम पदार्थको भण्डारणसहित अत्याधुनिक डिपो बनाउने भएको छ । घनाबस्तीको बीचमा रहेको हालको डिपोले सुरक्षा चुनौती बढाएको जनाउँदै स्थानीयले डिपो स्थानान्तरण गरिदिन खबरदारी गरेपछि रूपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा स्थानान्तरणको तयारी गरिएको हो ।

साढे २५ बिघा जग्गामा इन्धन डिपो बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । काठमाडौं विश्वविद्यालयको कन्सल्टेन्सी सेवा विभागले बुधबार निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजनालाई डीपीआर हस्तान्तरण गरेको हो ।

डीपीआरमा ५ अर्ब ७९ करोड ३० लाख ६४ हजार रुपैयाँ (भ्याटबाहेक) लाग्ने लागत अनुमान गरिएको छ । डीपीआर तयार भएकाले भदौमा बजेट स्वीकृत भएलगत्तै अत्याधुनिक डिपो निर्माण थालिने परियोजना प्रमुख प्रदीपकुमार यादवले बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र निगम कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको विशेष निर्देशनमा आधुनिक सुविधासम्पन्न इन्धन डिपो बन्ने उनको भनाइ छ ।

‘बजेट स्वीकृत भएपछि मंसिरसम्म टेन्डर मूल्यांकन र ठेक्का सम्झौता हुन्छ । तीन वर्षमा निर्माण सक्ने लक्ष्य छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘ईपीसी मोडलमा टेन्डर आह्वान हुन्छ । डीपीआरकै लागतभित्र डिपो तयार हुन्छ ।’ हाल सञ्चालनमा रहेको लुम्बिनी प्रादेशिक कार्यालय, भलबारी (रूपन्देही) साँघुरो घनाबस्तीमा छ । यसले पेट्रोलियम पदार्थको माग धान्न सक्ने अवस्था छैन ।

करिब साढे पाँच बिघा जमिनमा फैलिएको डिपोमा भण्डारण क्षमता न्यून छ । भलबारी डिपोमा पेट्रोलका लागि ५ सय १९ किलोलिटर, डिजेलका लागि ३ हजार ४० किलोलिटर र मट्टितेलका लागि २ सय ८० किलोलिटर क्षमताको भण्डारण गृह छ ।

बुटवल–भैरहवा मुख्य राजमार्गसँगै जोडिएको र घनाबस्तीको बीचमा रहेको डिपोबाट दैनिक र नियमित रूपले पेट्रोलियम जस्तो प्रज्वलनशील पदार्थको कारोबार हुँदा सुरक्षा चुनौती उत्तिकै छ । यही विषयलाई दृष्टिगत गरेर निगमले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डीपीआर तयार पारिएको जनाएको छ । काठमाडौं विश्वविद्यालय, कन्सल्टेन्सी सेवा विभाग र निगमको भण्डारण क्षमता वृद्धि परियोजनाबीच २०८१ मंसिर १२ मा सम्झौता भएको थियो ।

निगमका अनुसार नयाँ बन्ने अत्याधुनिक डिपोमा ४ हजार ५ सय किलोलिटर डिजेल राख्न मिल्ने ३ वटा भर्टिकल ट्यांक (कुल १३ हजार ५ सय किलोलिटर) रहनेछन् ।

1

Scroll to Top