Banijya News

२२ प्रतिशतले बढ्यो राष्ट्रिय स्तरका विकास बैंकको नाफा, निष्क्रिय कर्जा कति ?

1
1.2K Shares

राष्ट्रिय स्तरका आठ विकास बैंकले गत आर्थिक वर्ष २०८१–८२ मा कुल ७ अर्ब ९७ लाख रुपैयाँ नाफा गरेका छन् । अघिल्लो आव २०८०–८१ मा यी बैंकहरुको नाफा ५ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा गत आवको नाफा २२.०१ प्रतिशतले बढेको हो ।

विकास बैंकहरुको खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानी बढेको तथा सम्भावित कर्जा नोक्सानी व्यवस्था घट्दा नाफा धेरै भएको हो ।

यस्तै, गत आवमा यी विकास बैंकको वितरणयोग्य नाफा १८१.३० प्रतिशतले बढेर ४ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यी बैंकको वितरणयोग्य नाफा १ अर्ब ७२ करोड ७६ लाख रुपैयाँ थियो ।

गत आवमा ८ विकास बैंकमध्ये ६ वटाको नाफा बढेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, गत आवमा गरिमा विकास बैंकको नाफामा उच्च वृद्धि हुँदा ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकको नाफामा भने संकुचन आएको छ ।

गत आवमा यी बैंकहरूको खुद ब्याज आम्दानी ४.६३ प्रतिशतले बढेर २६ अर्ब २० करोड ६२ लाख रुपैयाँ पुगेको छ । यस्तै, फि तथा कमिसन आम्दानी १२.४५ प्रतिशतले बढेर ३ अर्ब १५ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

बैंकहरूको कर्जा नोक्सानी व्यवस्था ३.७९ प्रतिशतले घटेर ६ अर्ब ४७ करोड ६६ लाख रुपैयाँमा झरेको छ । गत आवमा मुक्तिनाथ र गरिमा विकास बैंकले एक अर्बभन्दा बढी नाफा गरेका छन् । सबैभन्दा कमजोर ज्योति विकास बैंक देखिएको छ ।

मुक्तिनाथ विकास बैंकले गत आवमा सर्वाधिक धेरै १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा ३०.७० प्रतिशतले नाफा बढाएको यो बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ छ । यसबाट बैंकले सेयरधनीलाई २०.७५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

गत आवमा दोस्रो धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक छ । गत आवमा यो बैंकको नाफा १ अर्ब ३१ करोड पुगेको छ । नाफासँगै बैंकको वितरणयोग्य नाफा बढेर ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ । यसबाट बैंकले १२.५९ प्रतिशतसम्म लाभांश बाँड्ने क्षमता राख्छ ।

यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३.३१ प्रतिशतले वृद्धि हुँदा ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ६८ करोड ५ लाख रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश क्षमता १३.९६ प्रतिशत छ ।

गत आवमा कामना सेवा विकास बैंकले नाफा ९.१९ प्रतिशतले बढाएर ६३ करोड ५३ लाख रुपैयाँ पुर्‍याएको छ । बैंकको वितरणयोग्य नाफा ६० करोड ७४ लाख पुग्दा लाभांश क्षमता १७.३० प्रतिशत छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यस बैंकको वितरणयोग्य नाफा ४१ करोड ३९ लाख रुपैयाँ पुग्दा लाभांश क्षमता ११.६४ प्रतिशत छ ।

यस्तै, महालक्ष्मी विकास बैंकको नाफा १.२६ प्रतिशतले बढेर ५० करोड ६७ लाख रुपैयाँ पुग्दा वितरणयोग्य नाफा बढेर ४९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । लाभांश क्षमता ११.५१ प्रतिशत छ ।

लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकको नाफामा भने उच्च गिरावट देखिएको छ । गत आवमा लुम्बिनी विकास बैंकको नाफा ३०.१३ प्रतिशतले घटेर ३७ करोड ७९ लाख रुपैयाँमा संकुचन हुँदा ज्योति विकास बैंकको नाफा ९२.७४ प्रतिशतले घटेर १ करोड २४ लाख रुपैयाँमा झरेको छ ।

लुम्बिनी विकास बैंकको वितरणयोग्य नाफा घटेर २९ करोड ४४ लाख रुपैयाँमा झरेको छ भने लाभांश क्षमता ८.१३ प्रतिशतमा झरेको छ । ज्योति विकास बैंक भने ७८ करोड ५ लाख रुपैयाँले सञ्चित नोक्सानीमा छ ।

निष्क्रिय कर्जा कसको कति ?
गत आवमा सबैभन्दा कम निष्क्रिय कर्जा मुक्तिनाथ विकास बैंकको छ । यो बैंकको निष्क्रिय कर्जा अनुपात ०.३८ प्रतिशतले बिन्दुले बढेर २.२७ प्रतिशत पुगेको छ । बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थाको लागि ५६ अर्ब ३० करोड रुपैयाँ छुट्याएको छ । अघिल्लो आवमा बैंकले कर्जा नोक्सानी व्यवस्थाको लागि ७७ करोड ६८ लाख रुपैयाँ छुट्याएको थियो ।

यस्तै, गरिमा विकास बैंकको निष्क्रिय कर्जा ०.१३ प्रतिशत बिन्दुले घटेर ४.७२ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जा घटे पनि गत आवमा यो बैंकले ५३ करोड ८० लाख रुपैयाँ थप कर्जा नोक्सानी व्यवस्था गरेको छ ।

अघिल्लो आवमा १ अर्ब ७१ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेकोमा गत आवमा नोक्सानी व्यवस्था घटेसँगै नाफामा उच्च वृद्धि भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ । ज्योति विकास बैंकको निष्क्रिय कर्जा ५.२९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशतले पुगेको हो । निष्क्रिय कर्जा बढेसँगै बैंकले कर्जा नोक्सानी व्यवस्थाको लागि १ अर्ब २८ करोड ३४ लाख छुट्याएको छ । अघिल्लो आवमा बैंकले कर्जा नोक्सानी व्यवस्थाको लागि १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ छुट्याएको थियो ।

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा ०.०२ प्रतिशत बिन्दुले बढेर ३.३८ प्रतिशत पुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा ०.८१ प्रतिशत बिन्दुले बढेर ४.२४ प्रतिशत पुगेको छ ।

1

Scroll to Top