Banijya News

घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, कति कारोबार गर्नेलाई कति दस्तुर ?

1
1.3K Shares

घरजग्गा कारोबारलाई नियमन र पारदर्शी बनाउन सरकारले अनिवार्य रूपमा लाइसेन्स लिएर मात्रै घरजग्गा कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था २०३६ सालको मालपोत नियमावलीलाई आठौँ पटक संशोधन गरेर लागू गरिएको हो ।

नवीनतम संशोधनसँगै मालपोत नियमावलीको परिच्छेद–६क पछि परिच्छेद–६ख थप गरिएको छ, जसमा घरजग्गा कारोबारका लागि अनिवार्य इजाजतपत्रसम्बन्धी प्रावधान समावेश गरिएको छ । मालपोत ऐनमा पहिल्यै रहेको व्यवस्थालाई स्पष्ट र व्यवस्थित गर्न यो संशोधन गरिएको हो ।

कति कारोबार गर्नेलाई कति दस्तुर ?
घरजग्गाको एक पटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने व्यक्तिको हकमा इजाजतपत्र दस्तुर पाँच लाख रुपैयाँ लाग्नेछ । पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेको हकमा १० लाख रुपैयाँ इजाजतपत्र दस्तुर लाग्नेछ ।

लाइसेन्सको अवधि सकिनुभन्दा ३५ दिनअगावै लाइसेन्स नवीकरण गरेमा पाँच करोड रुपैयाँको कारोबार गर्ने इजाजतप्राप्त व्यक्तिले चार लाख रुपैयाँ बुझाउनुपर्ने छ ।

त्यसैगरी पाँच करोडभन्दा बढीको कारोबार गर्नेको हकमा ३५ दिनअगाडि नवीकरण गरे आठ लाख रुपैयाँ मात्र लाग्नेछ । योबाहेक ३५ दिनभित्र नवीकरण नगरेका व्यक्तिले थप ५० हजार जरिवाना तिरेर ९० दिनभित्र नवीकरण गर्न सक्नेछन् ।

घरजग्गा कारोबार गर्दा गलत सूचना, नक्सा, मूल्य वा स्वामित्वसम्बन्धी झुटो विवरण प्रस्तुत गर्न बन्देज लगाइएको छ । त्यस्ता कम्पनीले लाइसेन्स स्पष्ट देखिने गरी कार्यालय वा कारोबारस्थलमा राख्नुपर्नेछ भने घरजग्गा कारोबारसम्बन्धी अभिलेख राखी प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नियमावलीमा निरीक्षण वा सुपरिवेक्षणका क्रममा लाइसेन्स दिने अधिकारी वा निजको अधिकार प्राप्त व्यक्तिले माग गरेको विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था छ । सरकारको बजेट वक्तव्यमा घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था गरिने केही वर्षदेखि उल्लेख गर्दै आए पनि यो नियमावलीमा व्यवस्था नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन ।

1

Scroll to Top