Banijya News

सुनचाँदी धितो मार्फत दुई महिनामा पौने तीन अर्ब कर्जा प्रवाह

1
1.2K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ)मा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा राखेर पौने तीन अर्ब रुपैयाँ (दुई अर्ब ८४ करोड रुपैयाँ) कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले लगाएको एकल ग्राहकलाई ५० लाख रुपैयाँभन्दा बढी कर्जा दिन नपाउने सीमाका कारण गत वर्षको सोही अवधिको तुलनामा यस पटक कर्जा प्रवाह घटेको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनामा तीन अर्ब पाँच करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो, जसको तुलनामा यस वर्ष २० करोड ४४ लाख रुपैयाँले कम हो। बैंकरहरूले केन्द्रीय बैंकको यो सीमा कायम राख्नुपर्ने दबाबले कर्जा प्रवाहमा कमी आएको बताएका छन्।

समग्रमा सुनचाँदी धितो कर्जाको कुल बक्यौता भने निरन्तर बढिरहेको छ। भदौ मसान्तसम्ममा सुनचाँदी धितोमा कुल कर्जा प्रवाह बढेर ८७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। असार मसान्तसम्म यस्तो कर्जा ८४ अर्ब ८० करोड रुपैयाँ थियो।

नेपाल राष्ट्र बैंकले गत वर्ष पुस २९ गते निर्देशनमार्फत एकल ग्राहकलाई सुनचाँदी धितोमा दिइने कर्जाको सीमा ५० लाख रुपैयाँ तोकेको थियो। केन्द्रीय बैंकले २०८३ असार मसान्तसम्ममा यो सीमा कायम राख्नुपर्ने व्यवस्था गरेको छ।

कर्जालाई सुरक्षित बनाउनका लागि राष्ट्र बैंकले कडाइका साथ नियमन गरेको छ। केन्द्रीय बैंकको व्यवस्था अनुसार, सुनचाँदी धितो कर्जा प्रवाह गर्दा ऋणीले दिएको सुन वा चाँदी अनिवार्य रूपमा परीक्षण जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र प्रवाह गर्नुपर्नेछ। यदि ऋणीले धितोस्वरूप दिएको सुन वा चाँदी एउटै थैलीमा नराखेको वा परीक्षण जाँच नगरी कर्जा प्रवाह भएमा बैंकले त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ।

हाल बैंकहरूले सुनको गहनाका लागि मूल्यको ७० प्रतिशतसम्म र राम्रो सुनका लागि मूल्यको ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउँदै आएका छन्। यो कर्जाको अधिकतम अवधि १ वर्षको हुने भए तापनि आवश्यक भएमा प्रत्येक वर्ष नवीकरण गर्न सकिने व्यवस्था रहेको छ।

सुनको मूल्य निरन्तर बढ्ने प्रवृत्तिले गर्दा बैंक तथा वित्तीय संस्थाको धितो जोखिममा पर्ने सम्भावना कम देखिए पनि जानकारहरूले सुनचाँदीको बढ्दो मूल्यले उपभोगमा पार्ने असर र यस प्रकारको कर्जा प्रवाहसम्बन्धी प्रभावकारी अध्ययन गरिनुपर्नेमा जोड दिएका छन्।

1

Scroll to Top