Banijya News

३५ उद्योगले तिरे डेडिकेटेड तथा ट्रंकलाइनको २३ करोड ८७ लाख बक्यौता

1
1.2K Shares

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।

बक्यौता तिर्न यसअघि सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ ।

३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ । ०७२ माघदेखि ०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेबापतको यो प्रिमियम महसुल बक्यौता हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राज्यप्रतिको दायित्व सम्झिएर उद्योगीले बक्यौता रकम तिर्न थालेकामा खुसी व्यक्त गरे । उद्योगीले बक्यौताको किस्ता तिर्ने कार्यलाई निरन्तरता दिने उनले विश्वास व्यक्त गरे ।

प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समयसीमा दिएर गएको असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । उक्त अवधिमा पनि बक्यौता रकम तिर्न नआएपछि कात्तिक ४ र ७ गते गरी दुई चरणमा लाइन काटिएको थियो ।

1

Scroll to Top