निजी क्षेत्रका लागि ऋण माग कमजोर बन्दा बैंकिङ प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार समग्र बैंक तथा वित्तीय प्रणालीको कुल निक्षेप ७५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५६ खर्ब ४४ अर्बमा सीमित छ। जसको ग्याप १८ खर्ब ७१ अर्ब रुपैयाँ छ।
यसमध्ये करिब ११ खर्ब रुपैयाँ वाणिज्य बैंकहरूले तत्काल कर्जा दिन सक्ने तरल कोष रहेको देखिन्छ।
वाणिज्य बैंकहरूमा मात्र ६७ खर्ब ५८ अर्ब निक्षेप छ भने कर्जा प्रवाह ५० खर्ब २२ अर्बमा रोकिएको छ। कर्जा विस्तार नबढेपछि समग्र प्रणालीको सीडी रेसियो ७४.२५ प्रतिशतमा झरेको छ। जब कि नियामक सीमा ९० प्रतिशत रहेको छ।
२० वाणिज्य बैंकमध्ये ६ बैंकको सीडी रेसियो ८० प्रतिशत नाघेको छ। सबैभन्दा अगाडि प्राइम बैंक रहेको छ, जसको सीडी रेसियो ८६.२६ प्रतिशत पुगेको छ। त्यसपछि एनएमबी बैंक (८४.८८ प्रतिशत) र सानिमा बैंक (८३.५३ प्रतिशत) छन्।
उच्च सीडी अनुपातले आक्रामक कर्जा विस्तार गरेको संकेत गर्छ तर पछिल्लो समयमा एनआईसी एशिया र सिद्धार्थ बैंकजस्ता विगतका तीव्र कर्जा विस्तारकर्ता संस्थाहरू भने व्यवसाय घटाउने रणनीतिमा लागेका छन्।
बैंकहरूको सीडी रेसियो बढ्दै जाँदा तरलता जोखिम पनि बढ्ने विश्लेषकहरूको टिप्पणी छ। उच्च अनुपातमा कर्जा दिँदा आकस्मिक कोष व्यवस्थापन चुनौती बन्छ र बजार अस्थिर हुँदा समस्याको सम्भावना बढ्ने देखिन्छ।
यता राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही बैंकहरूको एनपिए (खराब कर्जा) ५ प्रतिशतभन्दा माथि पुगेको छ। यस्ता बैंकहरूलाई कर्जा असुली, पुनर्संरचना र जोखिम व्यवस्थापनमा सक्रिय हुन नियामकहरूले ध्यानाकर्षण गराएका छन्।क्रम संख्या बैंक सीडी रेसियो (प्रतिशत) १ प्राइम ८६.२६ २ एनएमबी ८४.८८ ३ सानिमा ८३.५३ ४ सिटिजन्स ८२.५९ ५ कुमारी ८१.८२ ६ हिमालयन ८०.४२ ७ माछापुच्छ्रे ७९.२७ ८ नबिल ७९.१९ ९ एभरेष्ट ७८.१० १० ग्लोबल ७८.०५ ११ इन्भेष्टमेन्ट ७५.२८ १२ लक्ष्मी ७४.२८ १३ कृषि विकास ७२.८६ १४ एनआईसी एशिया ६९.४२ १५ नेपाल बैंक ६९.९२ १६ नेपाल एसबीआई ६८.८९ १७ प्रभू ६८.६३ १८ स्ट्याण्डर्ड चार्टर्ड ६६.०८ १९ राष्ट्रिय वाणिज्य ६०.७९
कसरी गरीन्छ तरलता ब्यवस्थापन ?
तरलता व्यवस्थापनका लागि बैंकहरूले राष्ट्र बैंकको नीतिअनुरूप निक्षेपको निश्चित प्रतिशत रकम सरकारी सुरक्षण पत्रहरू (जस्तै: ट्रेजरी बिल) मा लगानी गरिन्छ, जसलाई आवश्यकता पर्दा सजिलै बेचेर नगदमा परिणत गर्न सकिन्छ। बजारमा तरलता अभाव भएमा बैंकहरूले अन्य बैंकहरूसँग छोटो अवधिको ऋण (Inter-Bank Lending) लिने वा आफ्ना सरकारी सुरक्षणपत्रहरू धितो राखेर राष्ट्र बैंकसँग पुनर्ख्वाँज (Repo) सुविधा प्रयोग गरी नगद जुटाउने गर्छन्। कर्जा प्रवाहको अनुपातलाई निक्षेपको तुलनामा सन्तुलित (Credit-Deposit Ratio-CD Ratio) राख्न कडाइ गरिन्छ, ताकि अत्यधिक कर्जा प्रवाहले तरलताको सङ्कट ननिम्त्याओस्। यसरी, बैंकहरूले वित्तीय स्थिरता कायम राख्न, निक्षेपकर्ताको विश्वास जोगाउन र नाफालाई निरन्तरता दिन तरलताको जोखिमलाई निरन्तर निगरानी गरिरहेका छन्।


