आसन्न प्रतिनिधिसभा चुनावका लागि तीन वटै सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गृहमन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा चुनाव शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद गर्न अनुमति प्राप्त भएर प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।
२३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा आगजनीबाट धेरै सवारीसाधनहरू जलेर ध्वस्त भएका छन् ।
सुरक्षा निकायका धेरै सवारीसाधनहरू जलेर काम नलाग्ने भएका कारण अत्यावश्यक सवारीसाधन खरिदका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।
चुनावको वातावरण निर्माण गर्न पनि तीनै सुरक्षा निकायका लागि अत्यावश्यक सवारीसाधन खरिद हुन जरुरी भएकाले चुनाव अगाडि नै सवारी साधन खरिद भइसक्ने विश्वास गृह मन्त्रालयले लिएको छ।
गृह मन्त्रालयको तथ्याङ्क अनुसार जेनजी प्रदर्शनमा मुलुकभर नेपाल प्रहरी अन्तर्गतका ४६५ वटा कार्यालयहरू क्षति पुगेको थियो भने सोही क्रममा ५७१ वटा विभिन्न सवारी साधनहरूमा क्षति पुगेको थियो ।


