Banijya News

नेपालमा भारतीय ठूला दरका नोट चल्न पाउँदा के हुन्छ फाइदा ?

1
1.2K Shares

गत मंसिर २९ गतेको मन्त्रिपरिषदको बैठकले सन् २०१६ नोभेम्बर ९ यता निस्कासन भएका २ सय र ५ सय दरका भारतीय नोट राख्न र ओसारपसार फुकुवा गरेको छ।

मन्त्रिपरिषद बैठकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारू २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको हो।

नेपालमा भारतीय ठूला दरका २ सय र ५ सयका नोट चल्न पाउने व्यवस्था कार्यान्वयनमा आएपछि पर्यटन, सीमावर्ती व्यापार, श्रमिक आवागमन र साना नगद कारोबारमा प्रत्यक्ष राहत पुग्ने देखिएको छ । लामो समयदेखि प्रतिबन्धका कारण सिर्जना भएको असहजता हट्दै जाँदा नेपाल–भारतबीचको दैनिक आर्थिक गतिविधि थप सहज हुने अपेक्षा गरिएको छ ।

भारत सरकारले समेत दुई साताअघि नेपाल र भुटानमा प्रतिव्यक्ति २५ हजारसम्म एक सयभन्दा ठूला दरका भारतीय नोट ल्याउन र लैजान अनुमति दिएको थियो। यसले नेपाली र भारतीय दुवैलाई फाइदा पुग्ने भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा बताउँछन्।

भारत सरकारले आफ्ना कतिपय प्रान्तमा मदिरा बिक्रीमा रोक लगाएको छ। यही कारण सीमावर्ती क्षेत्रमा यसकै लागि आउने भारतीय पर्यटकहरू समेत छन्। उनीहरूले नगद मै खर्च गर्ने भएकाले यसले समेत नेपालतर्फ कारोबार बढ्ने देखिन्छ।

राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरू प्रसाद पौडेल सय माथिका २ सय र ५ सय भारूको प्रतिबन्ध खुले पनि यसको प्रयोगमा सचेत हुनुपर्ने बताउँछन्।

विशेष गरेर भारतले कतिपय सिरिजका नोटहरू चलनचल्तीबाट हटाउन सक्ने र नेपालबाट ती नोट सटहीमा समस्या हुन सक्ने भएकाले यसमा सचेत हुनुपर्ने पौडेलको भनाइ छ।

सन् २०१६ मा भारतले ५ सय र एक हजारको नोटमा बन्दी लगाएपछि नेपाली व्यापारी, भारतमा श्रम गरिरहेकाहरू परिवारले व्यक्तिगत तवरबाटै ती नोट भारत पुर्‍याएर साट्नुपर्ने अवस्था बनेको थियो।

अहिले पनि राष्ट्र बैंकमा सो समयका पाँच सय र हजारका नोट सटही भइरहेको छैन। यस्ता करिब ८ करोड १० लाख ८ सय रुपैयाँ बराबरका ५ सय र हजार दरका भारु ( ५ करोड ६ लाख २५ हजार भारू) नोट छन्। त्यसयता सय भारू भन्दामाथिका नोट नेपालमा चल्दैन। नयाँ निर्णयपछि पनि सन् २०१६ नोभेम्बर ९ अगाडिका नोट भने चल्ने छैनन्।

मन्त्रिपरिषदको बैठकले २५ हजार रूपैयाँसम्म भारू ल्याउन र लैजान पर्ने व्यवस्था गरेपनि चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटले पाँच हजार डलर अर्थात् चार लाख ५१ हजार बराबर भारू ल्याउन दिने घोषणा गरेको थियो। होटल व्यवसायीहरू भने नयाँ व्यवस्था अनुसार २५ हजार भारू ओसारपसार गर्न पाइने सीमामा यस अन्तरिम सरकारले पुनर्मूल्यांकन गर्नुपर्ने बताउँछन्।

धार्मिक पर्यटनमा पनि यसको फाइदा देखिने व्यवसायीहरूको भनाइ छ । जानकी मन्दिर, पशुपतिनाथलगायत धार्मिक स्थल भ्रमण गर्न आउने भारतीय भक्तजनले साना दान, प्रसाद, यातायात र खानपानमा नगद खर्च गर्ने गर्छन् । ठूला दरका नोट प्रतिबन्धका कारण उनीहरू हैरानीमा पर्ने गरेका थिए, अब त्यो समस्या हट्ने अपेक्षा गरिएको छ ।

यद्यपि, राष्ट्र बैंकले भने यसमा सचेत हुनुपर्ने बताएको छ । ठूला दरका भारतीय नोट चल्न पाए पनि ती नोट संकलन गरेर राख्ने वा अत्यधिक प्रयोग बढाउने काम उचित नहुने केन्द्रीय बैंकको धारणा छ । भारतले भविष्यमा कुनै विशेष सिरिजका नोट चलनचल्तीबाट हटाएमा नेपालमा सटहीमा समस्या पर्न सक्ने जोखिमतर्फ पनि ध्यान दिनुपर्ने बताइएको छ ।

1

Scroll to Top