दैलेखमा प्राकृतिक ग्यासको ठूलो भण्डार रहेको पुष्टि भइसके पनि यसको व्यावसायिक उत्पादन कहिले सुरु हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ । पाँच महिनाअघि चिनियाँ प्राविधिक टोलीले दैलेखमा खर्बौँ घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक निष्कर्ष दिएपछि तत्कालीन सरकारले यसलाई राष्ट्रिय समृद्धिको आधार मानेर छिटो परीक्षण र उत्पादन थाल्न निर्देशन दिएको थियो । तर सरकार परिवर्तनसँगै त्यो उत्साह फाइलमै सीमित हुँदा दैलेखको ग्यास कहिले उत्पादनमा जान्छ भन्ने अन्योल झनै गहिरिएको छ ।
चीनको जिओलोजिकल सर्वे कम्पनीले दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा गरेको ड्रिलिङबाट एकै कुवामा करिब १ खर्ब १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको तथ्य पत्ता लागेको थियो । श्रीस्थान, नाभिस्थान, पादुकास्थान र जलजले गरी चार क्षेत्रलाई सम्भावित मान्दा कुल भण्डार ४ खर्ब ३० अर्ब घनमिटर हुन सक्ने प्रारम्भिक अनुमान छ । विज्ञहरूका अनुसार यो परिमाणले नेपाललाई करिब ५० वर्षसम्म ग्यास तथा इन्धनको माग धान्न सक्ने क्षमता राख्छ । यति ठूलो सम्भावना हुँदाहुँदै पनि उत्पादनको ठोस कार्ययोजना नबन्नु सरकारको प्राथमिकतामाथि प्रश्न उठाउने विषय बनेको छ ।
प्राकृतिक ग्यास उत्पादनको पहिलो र अनिवार्य आधार चिनियाँ प्राविधिक टोलीको अन्तिम प्रतिवेदन हो । उक्त टोलीले ड्रिलिङ र प्रारम्भिक परीक्षणपछि तयार पारेको ड्राफ्ट प्रतिवेदन एक महिनाअघि नै खानी तथा भूगर्भ विभागमा बुझाइसकेको छ । तर विभागले अहिलेसम्म त्यो प्रतिवेदन औपचारिक रूपमा पुनरवलोकनसमेत नगरेको स्वीकार गरेको छ । विभागका अधिकारीहरू प्रतिवेदन नखोलिँदासम्म ग्यासको गुणस्तर, व्यावसायिक सम्भाव्यता र उत्पादन मोडालिटीबारे ठोस निर्णय गर्न नसकिने बताउँछन् ।
सरकार परिवर्तनपछि दैलेखको ग्यास परियोजना नीति निर्माणकर्ताको प्राथमिकताबाट पछाडि परेको देखिन्छ । तत्कालीन प्रधानमन्त्रीले मंसिरभित्रै परीक्षण तथा उत्पादन थाल्न निर्देशन दिए पनि अहिलेको सरकारको ध्यान मुख्यतः निर्वाचन व्यवस्थापन र सत्ता समिकरणमा केन्द्रित हुँदा ग्यास परियोजना ओझेलमा परेको छ । सम्बन्धित मन्त्रालय र निकायबीच स्पष्ट समन्वय नहुँदा प्रतिवेदनमाथि छलफल, नीति निर्णय र लगानी ढाँचा अघि बढ्न सकेको छैन ।
यसबीच नेपाल आयल निगमले भने ग्यास उत्पादनपछिको उपयोगबारे अध्ययन गरिसकेको छ । निगमले तयार पारेको प्रतिवेदनअनुसार दैलेखको ग्यास प्रयोग गरेर वार्षिक ७ लाख मेट्रिक टन युरिया मल उत्पादन गर्न सकिने, २०० मेगावाट क्षमताको विद्युत् आयोजना सञ्चालन गर्न सकिने र यातायात क्षेत्रमा सीएनजी प्रयोग विस्तार गर्न सकिने देखिएको छ । निगमले परीक्षण, उत्पादन र वितरणको नेतृत्व लिन तयार रहेको उल्लेख गर्दै प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाइसकेको छ । तर उक्त प्रतिवेदनमा पनि सरकारले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।
विज्ञहरूका अनुसार अबको पहिलो कदम भनेको चिनियाँ टोलीको प्रतिवेदन तत्काल अध्ययन गरी ग्यासको व्यावसायिक उत्पादन सम्भव छ वा छैन भन्ने आधिकारिक निष्कर्ष निकाल्नु हो । त्यसपछि लगानी मोडेल, सञ्चालन निकाय, कानुनी संरचना र पूर्वाधार विकासबारे निर्णय गर्न सकिन्छ । यी प्रक्रिया छिटो अघि बढेमा पनि व्यावसायिक उत्पादन सुरु हुन कम्तीमा दुईदेखि तीन वर्ष लाग्ने अनुमान उनीहरूको छ । प्रतिवेदनमै ढिलाइ भइरहेमा भने दैलेखको ग्यास अझै लामो समय भूमिगत सम्पत्तिमै सीमित हुने जोखिम छ ।


