सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’को इकाई बिक्री खुला गरिएको छ। योजना सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको छ।
नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त यो योजना रकम एक अर्ब रहेको छ। इकाई बिक्री पुस ४ गतेदेखि ८ गतेसम्म खुला रहनेछ। यस योजनामा लगानी गर्दा बचतमा भन्दा बढी प्रतिफल प्राप्त हुने सम्भावना रहेको योजना व्यवस्थापकले बताएको छ।
योजना सेयर र डिबेन्चरमा लगानी गरी नाफा र जोखिमको सन्तुलन कायम राख्ने लक्ष्य राखेको छ। हाल नेप्से इन्डेक्स तल्लो तहमा रहेको हुँदा लगानीकर्ताले राम्रो प्रतिफल आर्जन गर्ने अवसर रहेको विश्वास व्यक्त गरिएको छ।
योजनामा सहभागी हुन इच्छुकले आफ्नो ‘मेरो सेयर’ खातामार्फत वा सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। न्यूनतम् १०० र अधिकतम १००,००० इकाई .प्रति इकाई १० रुपैयाँ, न्यूनतम रु. १ हजार, अधिकतम रु. १० करोड) खरिद गर्न सकिने प्रावधान छ।
यो योजनाले औसत वार्षिक १४ प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ। सिटिजन्स क्यापिटल लिमिटेडले इच्छुक व्यक्तिलाई १,००० देखि २ लाख इकाईसम्म आवेदन दिन सुझाव दिएको छ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयाम थप्दै ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाको अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र सिइओ सबिर बादे श्रेष्ठ रहेका छन्।


