चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व उठाएको छ । अर्थमन्त्रालयकाअनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको हो। यो लक्ष्यको तुलनामा ७८ दशमलव ७४ प्रतिशत हो। गत वर्षको सोही अवधिको तुलनामा राजश्व १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ।
अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्रतिकुल परिस्थितिमा पनि राजश्व गतवर्ष भन्दा सकारात्मक उठेको जानकारी दिए। उनकाअनुसार राजश्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्यअभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ।
तर आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले नेगेटिभ वृद्धिदर छ। नाकारात्मक हुनुको कारण बजारमा व्याजदर घट्नु र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु मुख्य कारण रहेको उनको भनाइ छ।
उनकाअनुसार मंसिरसम्मको लक्ष्य नभेट्नुको अर्को कारण पुँजीगत लाभकरमा कमी आउनु पनि हो। घरजग्गाका कारोबारहरू सिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा कम आएको र लक्ष्य भेट्न सकस परेको पाण्डेले जानकारी दिए।
घरजग्गाका कित्ताकाट खुलिसकेको र शेयर कारोबारमा पनि अलिकति उछाल आउने छनक देखिएकाले आगामी दिनमा राजश्व बढ्ने अर्थ मन्त्रालयको विश्वास छ। अर्थ मन्त्रालयकाअनुसार आशन्न निर्वाचनमा हुने खर्च र पुनर्निर्माणमा गरिने खर्चले पनि राजश्व वृद्धिमा सहयोग पुर्याउने र लक्ष्य भेट्नेछ।


