Banijya News

तयारी नभएका चार हजार योजना रोक्का, चालु बजेटबाटै चुनाव खर्च जुट्ने

1
1.1K Shares

अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुनमा हुने चुनावमा चालु बजेटबाटै खर्च जुट्ने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालले चालु आर्थिक वर्षको बजेटमा तयारी बिनाका ३ करोडका ४ हजार योजनामा रहेको बजेटलाई रोक्का गरेर चुनावमा खर्च जुटाइएको बताए। करिब १२० अर्ब तयारी पूरा नभएका आयोजनाहरूको रोक्का आफू अर्थमन्त्री भएर आएपछि गरेको बताए। ती आयोजना मध्ये केहीमा टेण्डर भएका, हुने क्रममा रहेका आयोजनाहरूको भने फुकुवा गरिएको छ।

फुकुवा नभएका आयोजनामा रहेको बजेटबाट सरकारले चुनाव र पुनर्निमाणको काम गर्नेछ। अर्थमन्त्री खनालकाअनुसार चुनावमा भारत–चीनको सहयोग लिइँदैछ। छिमेकी देशहरूले खुला दिलले सहयोग गर्ने बताएकाले भारत–चीनबाट चुनावमा सहयोग लिन लागिएको उनले बताए।

खनालकाअनुसार त्यो सहयोग आर्थिक सहयोग भने होइन, चुनावमा आवश्यक पर्ने कतिपय सवारीहरू भारत चीनले दिँदैछन् उनले ४–५ अर्ब बराबरको भेइकल, इकुमेन्टहरू भारत चीनबाट चुनावका लागि सहयोग लिइएको बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले चुनावमा नेताहरूले विकासका आश्वासन बाडेर जित्दा योजनाहरूमा बजेट पार्न आयोगमा दबाब आउने गरेको बताए। उनकाअनुसार भोटरहरूलाई अनेक आश्वासन दिने र चुनाव जितेपछि पूर्वतयारी बिनाका आयोजनाहरूमा बजेट छुट्याउन दबाब आउने गरेको छ। उनकाअनुसार स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा पनि रिफर्म जरुरी छ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगकै पूर्वउपाध्यक्ष पुष्पराज कँडेलले सांसद्हरूलाई पोलिसि मेकरका रुपमा भन्दा पनि विकास एजेन्टका रुपमा चुनावमा जिताइँदा समस्या भएको बताए। उनकाअनुसार सबैभन्दा समस्याका रुपमा संसद डेभलपमेण्ट एजेन्ट हुनु हो। जसकारण आयोजना छनौटदेखि कार्यान्वयनसम्मै परेको छ।

सोही कार्यक्रममा, सार्वजनिक खर्च पुनरावलोकन आयोगका संयोजक समेत रहेका अर्थविद् डिल्लीराज खनालले मुलुकमा बेरोजगारी समस्या जटिल बन्दै गएको बताए। उनकाअनुसार सरकारले बनाउने योजनाहरूले तल्लो तहका समस्या हल गर्न सकेन। जसकारण नैरश्यता बढ्दो छ।

कार्यक्रममा पूर्वअर्थसचिव मधुकुमार मरासिनीले ठूला आयोजनाहरूमा थप लगानी बढाएर भए पनि अर्थतन्त्रलाई सरकारले चलायमान बनाउनुपर्ने बताए। उनकाअनुसार प्राइभेट सेक्टरको लगानीले मात्रै अर्थतन्त्र चलायमान हुन सक्दैन। सरकारले लगानी गरेर रोजगारीको सिर्जना गर्नुपर्छ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य रामकुमार फुयाँलले १६ औँ योजनापत्रले अघि सारेका योजनालाई पूरा गर्न सरकार अघि बढ्नुपर्ने बताए। उनकाअनुसार सामाजिक न्याय र समृद्धिको यात्रा पूरा गर्न उत्पादन र उत्पादकतत्व बढाउनु पर्छ। उनका अनुसार एक घर एक रोजगारी सिर्जना गर्न सरकार लाग्नुपर्छ। त्यो हुनसक्यो भनेमात्र मुलुक समृद्ध हुनेछ।

1

Scroll to Top