रुपन्देहीको बेलहिया नाका हुँदै स्थलमार्गबाट नेपाल आउने तेस्रो मुलुकको पर्यटक आगमन संख्या बढेको देख्न सकिन्छ। अघिल्लो वर्ष सन् २०२४ मा भन्दा २०२५ मा यहाँ आउने पर्यटकको संख्या १२ प्रतिशतले बढेको हो। यो संख्या सन् २०२० को कोभिड महामारी यता सबैभन्दा अधिक पनि हो ।
अध्यागमन कार्यालय भैरहवाका अनुसार वर्ष सन् २०२५ मा एक लाख ३ हजार ९ सय ५५ पर्यटक स्थलमार्गबाट नेपाल भित्रिएका छन्। अघिल्लो वर्ष सन् २०२४ मा बेलहियाबाट ९२ हजार ६ सय ४४ तेस्रो मुलुकका पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
पछिल्ला वर्षहरूमा स्थलमार्गबाट नेपाल भित्रिने राहदानी बोकेका पर्यटकको संख्या बढ्दै गएको अध्यागमन कार्यालय भैरहवाका निमित्त प्रमुख डासुराम पौडेलले बताए छन्।
यस वर्ष सबैभन्दा बढी श्रीलंकाका पर्यटक आएका छन्। बेलहिया नाका हुँदै ३४ हजार ३ सय ६६ जना श्रीलंकनहरू नेपाल आएका छन् भने म्यानमारका १९ हजार ९ सय ६२, थाइल्याण्डका १९ हजार १ सय ९५, भियतनामका ७ हजार ६ सय ४५, दक्षिण कोरियाका ३ हजार ८२, संयुक्त राज्य अमेरिकाका २ हजार १ सय ४९ जना बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेको पाइन्छ् ।
स्थल नाकाबाट सबैभन्दा बढी २०२५ मार्चमा २० हजार ७ सय २० पर्यटकको आगमन भएके थियो । त्यस्तै फेब्रुअरीमा १७ हजार ८ सय ७१, नोभेम्बरमा १६ हजार ३ सय ५, अक्टोबरमा ११ हजार ६ सय ९७ र डिसेम्बरमा १० हजार ७ सय २० थिए । अफ सिजनको रूपमा रहेको जुनमा ६ सय १३ पर्यटक मात्र यो नाकाबाट नेपाल आएका थिए ।


