Banijya News

सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि आईपीओ ल्याउँदै

1
1.2K Shares

सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ वितरणपछि अब सर्वसाधारण चरणको निष्कासन गर्न लागेको हो ।

कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १ करोड कित्ता सेयर निष्कासन गरी प्रि-अलटमेन्ट सम्पन्न भइसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको १० लाख कित्ता सेयर पनि बाँडफाँट भइसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीका लागि ३ लाख कित्ता सेयर सुरक्षित गरी बाँकी ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो । यी सेयरको कुल मूल्य ८२ करोड रुपैयाँ बराबर रहेको छ ।

आईपीओमा आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । निष्कासन छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते बन्द हुने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध हुनेछ ।

क्रेडिट रेटिङतर्फ इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजना निर्माणको अनुमानित लागत १६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रहेको छ । प्रतिमेगावाट लागत करिब १९ करोड ८८ लाख रुपैयाँ अनुमान गरिएको छ ।

आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष बाँकी रहेको छ । कम्पनीका अनुसार आयोजनामा लगानी फिर्ता हुने साधारण अवधि ७.६८ वर्ष र डिस्काउन्ट अवधिमा १२.०९ वर्ष रहेको छ।

1

Scroll to Top