भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले मुलुकको उत्पादन क्षेत्रमा ठूलो असर पारेको छ। राष्ट्रिय अर्थ नीति आयोगको प्रारम्भिक मूल्यांकन अनुसार आन्दोलनका कारण वस्तु तथा सेवा उत्पादन क्षेत्रमा मात्र १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ बराबरको नोक्सानी भएको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्तासमेत रहेका समितिका सदस्य ढुण्डिराज लामिछानेले उत्पादनतर्फ थप १३ अर्थ ८७ करोड ५६ लाख रुपैयाँ क्षति भएको बताए। आन्दोलनका क्रममा भौतिक सम्पत्तितर्फ ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ क्षति भएको छ। त्योबाहेक उत्पादनतर्फ शप १२ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ क्षति भएको छु उनले बताए । दुवै क्षेत्रको नोक्सानी गणना गर्दा जेन–जी आन्दोलनबाट मुलुकले कुल ९८ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ बराबरको आर्थिक घाटा भएको देखिन्छ।
प्रतिवेदनअनुसार ८० निजी प्रतिष्ठानमा १३ अर्ब ६९ करोड १४ लाख रुपैयाँबराबरको उत्पादनमा क्षति आएको छ । यसैगरी १७ घरपरिवारको १८ करोड ३७ लाख रुपैयाँ र २० सामुदायिक क्षेत्रमा पाँच लाख रुपैयाँबराबरको उत्पादनमा क्षति आएको छ । आन्दोलनका क्रममा वस्तु तथा सेवा उत्पादन गर्ने पाँच सय १९ वटा संस्था प्रभावित भएका थिए । त्यसमध्ये एक सय १७ वटा संस्थाको उत्पादन तथा सेवा प्रभावित भएको देखिन्छ । त्यसमा ४९ वटा संस्थाको उत्पादन बन्द भएको छ । त्यसमा निजी क्षेत्रको ४२, घरपरिवारको तीन र सामुदायिक क्षेत्रको चार संस्थाको उत्पादन पूर्ण रूपमा बन्द भएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
व्यापार उत्पादन क्षेत्रमा पाँच अर्ब १५ करोड रुपैयाँको आर्थिक क्षति
प्रतिवेदनअनुसार व्यापार क्षेत्रको उत्पादनमा पाँच अर्ब १५ करोड ९३ लाख रुपैयाँ क्षति भएको छ । विभिन्न २९ संंस्थामा सोबराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । भाटभाटेनी सुपरमार्केटलगायतमा भएको क्षतिको विवरण यसमा छ । यद्यपि, भाटभाटेनीमा भएको सबैखाले क्षति यसमा समावेश नभएको बताइएको छ । प्रतिवेदनअनुसार आन्दोलनका क्रममा होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा पाँच अर्ब आठ करोड ७४ लाखबराबरको उत्पादनमा नोक्सानी पुगेको छ । विभिन्न १८ वटा होटेल तथा रेस्टुरेन्टको उत्पादनमा सोबराबरको नोक्सानी पुगेको हो । आन्दोलनका कारण ह्यात, हिल्टनलगायतका होटेल बन्द भएका छन् । प्रतिवेदनअनुसार आठवटा होटेल तथा रेस्टुरेन्ट बन्द भएका छन् ।
प्रतिवेदनअनुसार मोटर तथा मोटरसाइकल व्यापारको उत्पादनमा एक अर्ब ६३ करोड ५० लाख रुपैयाँ नोक्सानी भएको छ । विभिन्न तीनवटा संस्थामा सोबराबरको नोक्सानी भएको हो । औद्योगिक
विभिन्न औद्योगिक प्रतिष्ठानमा भने एक अर्ब २४ करोड दुई लाख रुपैयाँबराबरको नोक्सानी भएको छ । विभिन्न १३ उद्योगको उत्पादनमा सोबराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार निजी आवासको १८ करोड ३७ लाख रुपैयाँ, सरकारी निकायको १४ करोड ४७ लाख रुपैयाँ, निजीको २७ करोड ५५ लाख रुपैयाँ, गैरसरकारीको पाँच लाख रुपैयाँ र अन्यको १४ करोड ९२ लाख रुपैयाँबराबरको उत्पादनमा नोक्सानी पुगेको छ । प्रतिवेदनअनुसार आन्दोलनका कारण निजी क्षेत्रका दुई हजार नौ सय ९९ जनाले रोजगारी गुमाएका छन् । त्यसमा पूर्ण रूपमा रोजगारी गुमाउनेको संख्या भने २३ सय ५३ छ । ‘आन्दोलनको कारण कुल ४३ निजी प्रतिष्ठानमा कार्यरत ४८ सय ५४ मध्ये २९ सय ९९ व्यक्तिहरूको रोजगारीमा प्रत्यक्ष असर परेको देखिन्छ । रोजगारी गुमाउने कुल व्यक्तिमध्ये १७ सय ९० जना पुरुष र १२ सय नौ जना महिला रहेको देखिन्छ ।
पूर्ण रूपमा रोजगारी गुमाउनेको संख्या २३ सय ५३ रहेको छ भने आंशिक रूपमा रोजगारी गुमाउनेको संख्या ६ सय ४६ रहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘पूर्ण रोजगारी गुमाउने पुरुष र महिलाको संख्या क्रमशः ६१.५ प्रतिशत र ३८.५ प्रतिशत रहेको छ भने आंशिक रूपमा रोजगारी गुमाउने पुरुष र महिलाको संख्या क्रमशः ५३.३ प्रतिशत र ४६.७ प्रतिशत रहेको छ ।’
पूर्ण रूपमा रोजगारी गुमाउने १४ सय ४६ पुरुष र नौ सय सात महिला छन् । आंशिक रोजगारी गुमाउनेमा तीन सय ४४ पुरुष र तीन सय दुई जना महिला छन् । जेन–जी आन्दोलनले तत्कालीन उत्पादन मात्र प्रभावित नगरी दीर्घकालीन आर्थिक संरचनामा पनि असर पार्ने देखिन्छ। लगातार आन्दोलन र उद्योग बन्द हुँदा लगानीकर्ताको विश्वास घट्ने र व्यवसाय सञ्चालन असुरक्षित हुने जोखिम बढ्दछ। व्यापार, होटल–रेस्टुरेन्ट र औद्योगिक क्षेत्रमा परेको असरले आपूर्ति श्रृंखला अव्यवस्थित गर्ने र दैनिक उपभोक्ताको जीवनमा प्रभाव पर्ने सम्भावना छ। यसले मुलुकको आर्थिक वृद्धिदरमा कमी ल्याउने, रोजगार सिर्जना योजनामा अवरोध पुर्याउने र उत्पादन क्षेत्रको दीर्घकालीन क्षमता कमजोर गर्ने खतरा पनि उत्पन्न गर्न सक्छ।
सरकारले दीर्घकालीन रणनीति बनाउन आवश्यक छ। त्यसमा वैकल्पिक बजारको खोजी, उत्पादन र सेवा पुनर्स्थापना, कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्नु र आपूर्ति श्रृंखलामा वैकल्पिक मार्ग तयार गर्नु तत्काल कदम हुन्। त्यस्तै, उद्योग र व्यापारसँग सम्बन्धित विवाद समाधानका लागि सामाजिक संवाद र सहमति प्रक्रियामा जोड दिनु आवश्यक छ, जसले आगामी आन्दोलन वा अस्थिरताबाट हुने आर्थिक नोक्सानी न्यूनिकरण गर्न सहयोग पुर्याउँछ।


