वित्तीय कारोबारको निगरानी गर्ने अन्तर्राष्ट्रिय मञ्च ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को ‘ग्रे–लिस्ट’ बाट बाहिरिन अब एक वर्षको समय मात्र बाँकि छ । आगामी एक वर्षभित्र ‘गे–लिस्ट’ बाट उम्किन एफएटीएफले दिएको दुई वर्षमध्ये एक वर्ष सकिएको छ । बाँकी एक वर्षमा तोकिएको सबै पूरा गरे मात्र बाहिर निस्कन पाइने छ । गत फागुन ९ (फेब्रुअरी २०२५) मा नेपाल ‘ग्रे–लिस्ट’ मा परेसँगै त्यसबाट बाहिरिन एफएटीएफले कार्ययोजना बनाएर दिएको छ । एक वर्षभित्र त्यही योजना मात्र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके ग्रे–लिस्टबाट बाहिरिन सकिन्छ ।
कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न नसके नेपाल थप केही समय ‘ग्रे–लिस्ट’ मै बस्नुपर्ने छ । वित्तीय कारोबारको निगरानी गर्ने एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धीकरण गर्ने मुलुकको ‘ग्रे–लिस्ट’ मा राखेको छ । सुशासन कायम गरी शुद्धीकरणविरुद्ध प्रभावकारी कदम चालेर त्यसबाट बाहिर निस्कन एफएटीएफले नेपाललाई दुई वर्षको समय दिएकामा एक वर्ष बितिसकेको छ । यसकारण अब बाँकी एक वर्षमा जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने अर्थमन्त्री खनालले बताएका छन् ।
विदेशी लगानी अपेक्षाअनुसार नआउनुको एक कारण वित्तीय प्रणालीप्रतिको विश्वास कमजोर हुनु रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले सुधारमार्फत लगानी वातावरण सुधार गर्नुपर्नेमा जोड दिए । एफएटीएफ र एसिया प्यासिफिक ग्रुपले जनवरी २०२७ सम्ममा सुधार गर्नुपर्ने विभिन्न विषय समेटेर सुझाव दिएको पनि बताए ।
यतिबेला सम्पत्ति शुद्धीकरणमा मात्र होइन, नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा पनि छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई १८० देशमध्ये १०७ औं स्थानमा राख्दै अति भ्रष्टाचार हुने देशमा समेटेको छ । अदालत, संसद्, अख्तियार, अरू सरकारी निकाय, आयात–निर्यातजस्ता क्षेत्रमा चरम भ्रष्टाचार मौलाएको भन्दै ट्रान्सपरेन्सीले नेपाललाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखेको हो । अमेरिकाले पनि मानव तस्करीविरुद्ध प्रभावकारी कदम चाल्न नसकेको भन्दै गत वर्ष नेपाललाई ‘टायर टु वाच लिस्ट’ (शंकित सूची) मा राखेको छ ।
कस्तो छ कार्ययोजना ?
कानुनी सुधार, संस्थागत क्षमता अभिवृद्धि, जोखिममा आधारित निगरानी, अनुसन्धान–अभियोजनको प्रभावकारिता र सम्पत्ति जफत जस्ता विषयलाई केन्द्रमा राखेको छ । कार्ययोजनाअनुसार नेपालले सबै क्षेत्रको सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तीयकरणसम्बन्धी जोखिम पहिचान र मूल्यांकन (च्ष्कप ब्ककभककmभलत) प्रभावकारी रूपमा गर्नुपर्नेछ । जोखिम बढी देखिएका क्षेत्र—घरजग्गा, सुनचाँदी कारोबार, सहकारी, गैर–नाफामूलक संस्था र नगद कारोबारमा कडाइ गर्नुपर्ने व्यवस्था छ ।
एफएटीएफले जोखिममा आधारित अनुगमन तथा नियमन प्रणाली पूर्ण रूपमा लागू गर्नुपर्ने सर्त राखेको छ । बैंक तथा वित्तीय संस्था मात्र होइन, बीमा, पुँजी बजार, सहकारी, र निर्दिष्ट गैर–वित्तीय व्यवसाय तथा पेशालाई पनि कडाइका साथ निगरानीमा ल्याउनुपर्ने कार्ययोजनामा उल्लेख छ ।
त्यस्तै, अनुसन्धान, अभियोजन र सजायको प्रभावकारिता कार्ययोजनाको महत्वपूर्ण पक्ष हो । कागजी सुधार मात्र नभई प्रमाणमा आधारित मुद्दा दर्ता, छिटो अभियोजन, दोषीलाई सजाय र अवैध सम्पत्ति जफत भएको स्पष्ट नतिजा एफएटीएफले खोजेको छ । कार्ययोजनाले अन्तर–निकाय समन्वय लाई कमजोर कडीका रूपमा औंल्याएको छ । प्रहरी, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्र बैंक, अख्तियार र महान्यायाधिवक्ताको कार्यालयबीच सूचना आदान–प्रदान र संयुक्त कारबाही प्रणाली बलियो बनाउनुपर्ने उल्लेख छ ।
एफएटीएफले अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा पनि जोड दिएको छ । सीमा पार हुने वित्तीय अपराध नियन्त्रणका लागि अन्य देशका नियामक र अनुसन्धान निकायसँग प्रभावकारी सूचना आदान–प्रदान गर्नुपर्ने कार्ययोजनामा समावेश छ । त्यसैगरी, डिजिटल वित्तीय प्रणाली र साइबर अपराध नियन्त्रण अर्को प्राथमिकता हो । डिजिटल भुक्तानी, क्रिप्टोसम्बन्धी जोखिम, अनलाइन ठगी तथा प्रविधिबाट हुने सम्पत्ति शुद्धीकरण नियन्त्रण गर्न कानुनी र प्राविधिक क्षमता विकास गर्नुपर्ने उल्लेख छ । एफएटीएफले नेपाललाई प्रगति कागजमा होइन, परिणाममा देखिनुपर्ने स्पष्ट सन्देश दिएको छ । यही कारण वर्षमा कम्तीमा तीन पटक एफएटीएफको प्लेनरी बैठकमा नेपालले आफ्नो प्रगतिबारे प्रतिवेदन र ब्रिफिङ गर्नुपर्ने व्यवस्था गरिएको छ ।
’ग्रे लिस्ट’ भनेको के हो?
पछिल्ला दशकहरूमा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीले सम्पत्ति शुद्धीकरण अर्थात् अवैध रूपमा वा अपराधबाट आर्जित धनलाई वैध बनाउने प्रक्रिया र आतङ्ककारी गतिविधिमा हुने लगानीलाई गम्भीरतापूर्वक लिन थालेको छ। वित्तीय माध्यमबाट त्यस्ता गतिविधि नहुन् र त्यसको निगरानी गर्न सकियोस् भनेर विभिन्न अन्तर्राष्ट्रिय निकाय स्थापना भएका छन्। ती निकायहरूले हरेक देशलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल नियम÷कानुन बनाउन र तिनको कार्यान्वयन गराउन प्रोत्साहन गर्ने गरेका छन्। त्यसो हुन नसके दण्ड÷सजाय पनि दिने गर्छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता सङ्गठन वित्तीय कारबाही कार्यदल वा फाइनान्शल एक्शन टास्कफोर्स (एफएटीएफ) ले निरन्तर निगरानी गरेर देशहरूलाई त्यसबारे सचेत गराउने गर्छ। आवश्यक कानुन नबनाउने, तिनको कार्यान्वयन नगर्ने वा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा हुने लगानी नियन्त्रणमा कदम नचाल्ने देशहरूलाई उसले प्रतिबन्धित अर्थात् ’ब्ल्याक लिस्ट’ वा सूक्ष्म निगरानी अर्थात् ’ग्रे लिस्ट’मा राख्न सक्छ।
एशिया प्रशान्त क्षेत्रमा भने एफएटीएफलाई देशहरूको निगरानी गरेर सिफारिस गर्ने निकायका रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एशिया प्रशान्त समूह अर्थात् एपीजी भन्ने निकाय रहेको छ। सम्पत्ति शुद्धीकरण र आतङ्ककारी क्रियाकलापमा हुने लगानी रोक्ने कानुनहरू बनाए पनि तिनको प्रभावकारी कार्यान्वयन नहुँदा र यस्ता गतिविधिबारेको बुझाइ कमजोर हुँदा नेपाल त्यस्तो सूचीमा परेको देखिएको छ।
फ्रान्सको राजधानी प्यारिसमा मुख्यालय रहेको एफएटीएफको शुक्रवार प्यारिसमै भएको एउटा बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण र आतङ्ककारी गतिविधिमा हुने लगानी नियन्त्रणका लागि आवश्यक कदमहरू चाल्न नसकेको भन्दै ’ग्रे लिस्ट’मा राख्ने निर्णय गरेको हो। नेपाल यस्तो सूचीमा परेको यो दोस्रो पटक हो। यसअघि सन् २००९ देखि २०१४ सम्म नेपाल उक्त समूहको निगरानी सूचीमा एक पटक परेको थियो।
दोस्रोपटक एफएटीएफको ‘ग्रे लिष्ट’ मा
नेपाल एफएटीएफको ‘ग्रे लिष्ट’ मा परेको यो दोस्रोपटक हो। यसअघि नेपाल सन् २०१४ मा ‘ग्रे लिष्ट’बाट निस्किएको थियो। त्यसबेला नियामकीय सुधार गर्ने भनेर मार्गचित्र तयार पारी कार्यान्वयनमा आएपछि एफएटीएफको प्रत्यक्ष निगरानी हटाइएको थियो। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी मामिलामा निगरानी राख्ने संस्था (एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेपछि सरकारको चौतर्फी आलोचना सुरू भएको छ भने अर्को तर्फ मुलुक आर्थिक संकटमा पर्न सक्ने अर्थ जानकारहरू बताउँछन्।
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्दा देशको वित्तीय प्रणालीमा गम्भीर असर पर्ने नेपाल राष्ट्र बैंकमा पूर्वगर्भनर डा. चिरञ्जीवी नेपाल बताउँछन्। ‘ग्रे लिष्ट’मा पर्नुको अर्थ देशभित्र वित्तीय अपराधहरू बढिरहेका छन् भन्ने सन्देश जान्छ र जसले नेपालप्रति अन्तरराष्ट्रिय विश्वास घट्ने उनले बताए। ‘आर्थिक कूटनीतिक र वित्तीय क्षेत्रमा गम्भीर असर पर्ने देखिन्छ। रेमिट्यान्स, राजस्व र समग्र अर्थतन्त्रमा पर्ने असर दातृ निकायले गर्ने सहयोगमा पनि समस्या पर्छ । राज्य गम्भीर भएर ग्रे लिस्टबाट हटाउन तागरूकता देखाउन जरूरी छ’, उनले भने ।
वैदेशिक व्यापारमा समस्या थपिँदा देशको अर्थतन्त्र महँगो हुने बताए। ग्रे लिस्टबाट बाहिर निस्किन नसके देशभित्र रेमिट्यान्स पठाउँदा पनि शुल्क बढ्न सक्छ भने रेमिट्यान्स हुण्डीबाट बढी प्रवाह हुने देखिएको छ । यसका कारण अन्तरराष्ट्रिय बैंकिङ प्रणालीसँगको सम्बन्ध बिग्रिन गई वैदेशिक व्यापारमा अवरोध उत्पन्न हुने र कारोबार प्रक्रिया जटिल हुन जाने देखिन्छ।


