ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई थप सेवा प्रदान गर्न बैंकले मोबाइल बैंकिङ्ग एपबाटै आइपीओ भर्न मिल्ने व्यवस्था गरेको छ । ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओको आवेदन दिन अरू माध्यम प्रयोग गर्दै आइरहेकोमा अब बैंकको मोबाइल बैंकिङ्गबाटै आवेदन दिन सक्नेछन् ।
आइपीओ म्यानेजमेन्जमा गई बैंकका ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले सजिलैसँग आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपश्चात् सिआरएन नम्बर तुरुन्तै प्राप्त गर्ने सक्नेछन् । तत्पश्चात् ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले सहजरुपमा आवेदन खुल्ला भएको आईपीओमा आवेदन दिन सक्नेछन् । साथै, ग्लोबल स्मार्ट प्रयोगकर्ताहरूलाई बैंकले कुनै कम्पनीको आइपीओ आवेदन खुल्ला हुँदा मोबाइल बैंकिङ्गबाट जानकारी समेत प्रदान गर्नेछ ।
यस सेवाले बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले सहज रूपमा आइपीओ आवेदन दिन सक्नेछन् र आईपीओ आवेदन खुल्ला भएको जानकारी समेत पाउनेछन् । यस सेवाको सुरुवातसँगै, ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले आइपीओ आवेदनको लागि अन्य माध्यम प्रयोग गर्न नपर्ने बैंकले जनाएको छ ।
एपमै लाइभ मार्केट सुविधा
ग्लोबल स्मार्ट प्लसमा शेयर बजारको कारोबारहरूको जानकारी पाइने भएको छ । बैंकको लाइभ मार्केट सुविधामा ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले सेकेन्डरी बजारमा कारोबार भएको सेयरको सम्पूर्ण जानकारी पाउनेछन् । लाइभ मार्केटको जानकारी, नेप्से कारोबारको सारांश, टप गेनर, टप टनओभर, पोर्टफोलियो, वाचलिष्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्टको जानकारी सहित लगानीको अवसरहरू समेत जानकारी प्रदान गर्नेछ ।
यस लाइभ मार्केट सुविधाअन्तर्गत ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले दोस्रो बजारको जानकारी लिनको साथै, ग्राहकहरूले आफ्नो व्यक्तिगत शेयर लगानी ट्र्याक गर्न सक्नेछन् । जहाँ ग्राहकहरूले खरिद मूल्य र कित्ता सङ्ख्या प्रविष्ट गर्न सक्छन् । यस आधारमा प्रणालीको हालको बजार मूल्य अनुसार कुल लगानीको वर्तमान मूल्य तथा नाफा वा घाटाको रियल टाइम गणनाको जानकारी गर्दछ । क्यालकुलेटरको प्रयोगले ग्लोबल स्मार्ट प्लस प्रयोगकर्तालाई शेयर किन्ने वा बेच्ने क्रममा सही हिसाब किताब गर्न सहयोग गर्दछ । उक्त क्यालकुलेटरको सहयोगले लगानीको योजना मद्दत गर्दछ ।
वाचलिष्ट सुविधाले लगानीकर्ताहरूलाई लगानीको निर्णय लिनु अधि मूल्य परिवर्तन र मार्केट ट्रेन्ड निगरानी गर्नका लागि आफ्ना मन पर्ने शेयरहरूको व्यक्तिगत सूची (वाचलिष्ट) बनाउने सुविधा रहेको छ । स्कट कम्प्यारिजनको सुविधाले लगानीकर्ताहरूलाई शेयरको विश्लेषणका लागि मूल्य ट्रेन्ड र अन्य सूचकहरूका आधारमा लगानी गर्न तुलनात्मक जानकारी सहितको सूचना उपलब्ध गराउँछ ।
यो सुविधासँगै बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले ग्लोबल स्मार्ट प्लसमा दोस्रो बजारको सम्पूर्ण जानकारी पाउने बैंकले जनाएको छ ।


