सरकारले आगामी पाँच वर्षभित्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वित्तीय क्षेत्रको योगदान ७.५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वित्तीय क्षेत्रको योगदान बढाउने लक्ष्यका साथ दोस्रो वित्तीय क्षेत्र विकास रणनीति ल्याएको छ, जसको कार्यान्वयनमा ल्याइएको ५ वर्षमा ७ दशमलव ५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो । सो लक्ष्य हासिल गर्न सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा ल्याएको छ । रणनीतिअनुसार आर्थिक वर्ष २०८६/८७ सम्म वित्तीय क्षेत्रको योगदान हालको ६.६५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याउने लक्ष्य छ । बैंकिङ, बीमाक्षेत्र, पूँजीबजार, सहकारी तथा गैरबैंकिङ क्षेत्रलाई समेटेर तयार गरिएको उक्त रणनीतिले वित्तीय साधन परिचालन विस्तार गर्दै आर्थिक वृद्धिमा योगदान बढाउने उद्देश्य राखेको छ ।
रणनीतिमा बैंकिङ क्षेत्रतर्फ कृषि क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा हालको १२.८४ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट र क्यूआर कोडजस्ता विद्युतीय माध्यम प्रयोग गरी हुने कारोबारको संख्या तीन गुणाले वृद्धि गर्ने प्रक्षेपण गरिएको छ । हरित बन्डजस्ता विशिष्टीकृत वित्तीय उपकरण जारी गरी दीर्घकालीन स्रोत परिचालन गर्ने योजना पनि रणनीतिमा समेटिएको छ । वित्तीय पूर्वाधार सुदृढीकरणका लागि विद्युतीय भुक्तानी प्रणालीको विकास, नेशनल पेमेन्ट स्वीच स्थापना तथा सार्वजनिक निकायका सम्पूर्ण कारोबार विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउने लक्ष्य लिइएको छ । कर्जा सूचना केन्द्रको क्षमता विस्तार, क्रेडिट स्कोर प्रणाली कार्यान्वयन र निक्षेप तथा कर्जा सुरक्षण कोषको संरचनागत सुधार आवश्यक रहेको रणनीतिमा उल्लेख छ ।
बढ्दो निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापनलाई चुनौतीका रूपमा औंल्याउँदै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्ने योजना पनि रणनीतिमा राखिएको छ । बीमाक्षेत्रतर्फ कुल जनसंख्याको ६० प्रतिशतमा बीमा पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ । न्यून आय वर्गलाई लक्षित सरल र पहुँचयोग्य बीमा योजना लागू गर्ने, स्थानीय तह र सहकारीसँग सहकार्य गर्दै बीमासेवा विस्तार गर्ने रणनीति तय गरिएको छ । हाल जीवन बीमाको पहुँच करिब ४८ प्रतिशत जनसंख्यामा पुगेको तथ्यांक रणनीतिमा समावेश गरिएको छ ।
पूँजीबजार विकासका लागि डेरिभेटिभ बजार, बन्ड बजार, सामूहिक लगानी योजना, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (च्भ्क्ष्त्), इन्डेक्स फन्ड र ग्रीन बन्डजस्ता वैकल्पिक वित्तीय उपकरण प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । साथै सबै प्रकारका वित्तीय उपकरणलाई अभौतिकीकरण गरी स्वचालित प्रणालीमार्फत दोस्रो बजारमा कारोबार गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
सहकारी तथा गैरबैंकिङ क्षेत्रतर्फ सुशासन र वित्तीय स्थायित्व सुनिश्चित गर्न कानूनी सुधार गर्ने, बचत तथा ऋण सहकारीको दर्ता र सञ्चालनमा कसिलो मापदण्ड लागू गर्ने रणनीति लिइएको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई दीर्घकालीन लगानी र सामाजिक सुरक्षाको बलियो आधार बनाउने लक्ष्य पनि रणनीतिमा समेटिएको छ । सरकारले रणनीति कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायलाई दुई महिनाभित्र कार्ययोजना तयार गर्न निर्देशन दिएको छ । कार्ययोजनामा समयसीमा, जिम्मेवार निकाय, प्राथमिकता र कार्यसम्पादन सूचक समावेश गरिने जनाइएको छ ।
जीडीपी बढाउन कस्ता कदम चाल्नुपर्छ ?
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि गर्न सरकारले उत्पादनशील क्षेत्रमा लगानी विस्तार, वित्तीय साधनको प्रभावकारी परिचालन र निजी क्षेत्रको सक्रिय सहभागितामा जोड दिनु आवश्यक देखिएको छ । कृषि, ऊर्जा, पर्यटन, उद्योग र साना तथा मझौला व्यवसायजस्ता क्षेत्रमा कर्जा र लगानी प्रवाह बढाउँदा उत्पादन, रोजगारी र उपभोग वृद्धि भई जीडीपीमा प्रत्यक्ष योगदान पुग्ने अर्थशास्त्रीहरूको भनाइ छ ।
त्यसैगरी डिजिटल भुक्तानी र वित्तीय पहुँच विस्तार, पूर्वाधार विकासमा दीर्घकालीन पूँजी परिचालन र लगानीमैत्री नीतिगत सुधारले आर्थिक गतिविधि तीव्र बनाउन सहयोग पुर्याउने बताइएको छ । वित्तीय प्रणालीलाई पारदर्शी, स्थिर र विश्वासिलो बनाउँदै बीमा र पूँजीबजारको विकासमार्फत जोखिम न्यूनीकरण र लगानी सुरक्षा सुनिश्चित गर्न सके जीडीपी वृद्धिलाई दिगो बनाउन सकिने विश्लेषण गरिएको छ ।


