नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य निरन्तर बढ्न थालेपछि चाँदीमा कालोबजारी सुरु भएको छ । मूल्य वृद्धि भएको अवसर छोपेर व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै तोकिएको दरभन्दा बढी मूल्य असुल्न थालेका छन् । चाँदीको मूल्य शुक्रबार रु सात हजार ६५ रुपैयाँ पुगेको छ । पछिल्ला केही महिनायता चाँदीको मूल्य निरन्तर उकालो लागेसँगै बजारमा यसको माग तीव्र रूपमा बढेको छ । माग बढ्दा पनि आपूर्ति सहज नबनाइएको भन्दै व्यवसायीले जानाजान बजारमा चाँदीको अभाव देखाएर बढी मूल्य लिने गरेको आरोप लाग्दै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार महासंघले तोकेको मूल्यभन्दा प्रतितोला २ सयदेखि ३ सय रुपैयाँसम्म बढी असुली भइरहेको छ । उनका अनुसार यसअघि तिहारको समयमा पनि यस्तै अवस्था देखिएको थियो । यस विषयमा तत्काल अनुगमन गरी कारबाही गर्न उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । हाल नेपाली बजारमा चाँदीको दैनिक माग ५ सय किलोसम्म पुगेको छ । केही समयअघि यो माग ३ सय किलोको हाराहारीमा थियो । चाँदी आयातमा कोटा प्रणाली नरहेकाले वाणिज्य बैंक र व्यवसायी दुवैले आयात गर्न पाउने व्यवस्था छ । राष्ट्र बैंकले चाँदी आयातका लागि डलर सटही सुविधा एक लाख डलरबाट बढाएर पाँच लाख डलरसम्म पु¥याए पनि त्यसको दुरुपयोग भइरहेको आरोप व्यवसायीहरूको छ ।
महासंघका अर्का पूर्वअध्यक्ष मणिकरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमै चाँदीको खपत बढ्दै गएको कारण मूल्य उकालो लागेको बताए । सुनको मूल्य भू–राजनीतिक तनावका कारण उच्च दरमा बढेपछि त्यसको असर चाँदीमा समेत परेको उनको भनाइ छ । साथै, चाँदी औद्योगिक उपकरण र प्रविधिमा प्रयोग बढ्दै जाँदा यसको माग अझ बढेको उनले बताए । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा चाँदीको मूल्य अस्वाभाविक रूपमा उच्च रहेको बताए । यसैबीच अन्तर्राष्ट्रिय राजनीतिक तनाव, विशेषगरी अमेरिका र इरानबीचको बढ्दो द्वन्द्वका कारण सुनको मूल्य पनि ऐतिहासिक उचाइमा पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार मात्र सुनको मूल्य प्रतितोला एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० पुगेको छ ।
सुन र चाँदी दुवैको मूल्य अस्वाभाविक रूपमा बढ्दै जाँदा उपभोक्तामाथि आर्थिक भार बढ्नुका साथै बजारमा कालोबजारी मौलाएको भन्दै सरोकारवालाले कडा अनुगमनको माग गरेका छन् ।


