आगामी चुनावपछि देशको अर्थतन्त्रको दिशा कस्तो हुन्छ भन्ने आम चासो बढिरहेको छ । चुनाव राजनीतिक प्रक्रिया मात्र नभई मुलुकको आर्थिक गतिविधिमा गहिरो प्रभाव पार्ने महत्त्वपूर्ण एक घटक पनि हो। “चुनावपछि अर्थतन्त्र उठ्छ कि उठ्दैन ?” भन्ने प्रश्नको जवाफ केवल चुनावसँग मात्र सीमित छैन। कस्तो सरकार बन्यो र उसले कस्तो निर्णय गर्छ अनि कस्ता आर्थिक एजेन्डालाई अघि सार्छ भन्ने कुराले फरक पार्छ। राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र कार्यान्वयनमा दृढता देखाइएमा मात्र चुनाव पछि देशको अर्थतन्त्र उकास्ने अवसर बन्न सक्छ। नियमित रूपमा तय भएको चुनाव र आकस्मिक रूपमा घोषणा गरिएको चुनावबिच अर्थतन्त्रमा पर्ने प्रभावमा ठुलो भिन्नता हुन्छ। चुनाव अघि र दौरान हुने सरकारी खर्च, जनताको आम्दानी, बजारमा माग–आपूर्ति, तथा लगानी प्रवाहमा परिवर्तन आउँछ ।
अचानक हुन लागेको चुनावले राजनीतिक वातावरण मात्र होइन, आर्थिक गतिविधिमा पनि प्रभाव पार्छ । अनियमित वा आकस्मिक रूपमा घोषणा भएका निर्वाचनले व्यवसायी, लगानीकर्ता र आम जनताको निर्णयमा अस्थिरता निम्त्याउँछ। चुनावको तयारीदेखि मतदान प्रक्रिया पूरा हुने अवधिसम्म सरकारी खर्च, प्रचार–प्रसारमा रकमको ठूलो प्रवाह हुन्छ। यसले खाद्य–पेय, यातायात, आवास र साना तथा मध्यम व्यवसायका क्षेत्रहरूमा अस्थायी माग बढाउँछ। तर राजनीतिक अनिश्चितताको कारण लगानी प्रवाह सुस्त हुन सक्छ, र निजी क्षेत्र विस्तारमा सतर्क हुन्छ।
अचानक घोषणा भएका चुनावले कर्मचारी र सरकारी निकायको योजना र संचालनमा पनि प्रभाव पार्छ। सामान्यतया, नियमित चुनावमा सबैले तयारी गर्न पाउँछन्, जसले बजारलाई स्थिर राख्छ। तर आकस्मिक चुनावमा मूल्य वृद्धिदेखि लगानी निर्णयसम्म अस्थिरता देखिने सम्भावना बढी हुन्छ। यस्तो परिस्थितिमा सरकारले राजनीतिक स्थायित्व, स्पष्ट नीतिगत मार्गदर्शन र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सके मात्र अर्थतन्त्रमा सकारात्मक प्रभाव ल्याउन सक्छ। अन्यथा चुनाव सकिएपनि बजार र अर्थतन्त्र प्रतीक्षामै सीमित रहन सक्छ।
अर्थतन्त्र सुधारको दृष्टिले चुनाव केवल राजनीतिक प्रतिस्पर्धा नभई विकास र रोजगारीको अवसर पनि हुन सक्छ। तर यसको प्रभाव सरकारको नीतिगत प्राथमिकता, निर्णय क्षमता र कार्यान्वयनमा निर्भर रहनेछ । नियमित समयमै हुने चुनावमा पूर्वानुमानको वातावरण रहन्छ । सरकार, कर्मचारीतन्त्र, निजी क्षेत्र र आम नागरिक सबैले चुनावको समयलाई ध्यानमा राख्दै आफ्नो योजना बनाउने अवसर पाउँछन् । यस्तो अवस्थामा सरकारी खर्च, लगानीको गति, बजारमा नगदको प्रवाह र मूल्यवृद्धिको सम्भावनालाई पहिले नै आँकलन गर्न सकिन्छ। निश्चित मितिको चुनावले अर्थतन्त्रमा अचानक झट्का नदिई क्रमिक समायोजनको अवसर प्रदान गर्छ।
तर राजनीतिक घटनाक्रमले अचानक चुनावको बाटो खोल्दा परिस्थिति अस्थिर बन्छ। हालै देखिएको राजनीतिक परिवर्तन, विशेष गरी भदौ २३ र २४ गतेको नवयुवा विद्रोहपछि सिर्जना भएको वातावरणले यही यथार्थ उजागर गरेको छ। उक्त घटनाले राजनीतिक समीकरणलाई मात्र होइन, आर्थिक प्रणालीलाई समेत अनिश्चिततातर्फ धकेलेको छ । आकस्मिक चुनावको अवस्थामा नीति निर्माण प्रक्रियामा अन्योल बढ्छ, सरकारी निर्णयहरू ढिलाइ हुन्छन् र निजी क्षेत्र लगानीमा सतर्क बन्छ। व्यवसायी तथा लगानीकर्ता जोखिम लिन हिचकिचाउँदा आर्थिक गतिविधि सुस्त हुन्छ । यसले बजारमा अस्थिरता बढाउने, मूल्यवृद्धिको दबाब सिर्जना गर्ने र समग्र अर्थतन्त्रलाई प्रतीक्षाको अवस्थामा पु¥याउने खतरा हुन्छ ।
यस कारण निर्वाचनलाई केवल राजनीतिक परिवर्तनको माध्यमका रूपमा मात्र होइन, आर्थिक स्थायित्वसँग गाँसिएको विषयका रूपमा बुझ्न आवश्यक छ । राजनीतिक स्थिरता, स्पष्ट समय रेखा र पूर्वानुमेयता कायम राख्न सकिएमा मात्र चुनावी प्रक्रियाले अर्थतन्त्रमा नकारात्मकभन्दा सकारात्मक प्रभाव पार्न सक्छ। अबको आवश्यकता भनेको राजनीतिक निर्णयले अर्थतन्त्रलाई कुन दिशामा लैजान्छ भन्ने गहिरो बुझाइ र जिम्मेवार कदम हो ।
चुनावपछि देशको अर्थतन्त्र स्वतः माथि उठ्छ भन्ने अपेक्षा आम नागरिकमा देखिन्छ। तर यो अपेक्षा पूरा हुने–नहुने कुरा चुनावभन्दा बढी त्यसपछिको राजनीतिक आचरण, नीतिगत स्पष्टता र सरकारको कार्यशैलीमा निर्भर गर्छ। चुनाव आफैँमा समाधान होइन, बरु अवसर हो—सही निर्णय गरिएमा सुधारको र गलत बाटो समातिएमा सङ्कटको।
निर्वाचन अघिसम्म अर्थतन्त्र प्रायः ‘पर्ख र हेर’ को अवस्थामा रहन्छ। निजी क्षेत्र लगानीमा हिचकिचाउँछ, सरकारी निर्णय सुस्त हुन्छन् र बजारमा अनिश्चितता बढ्छ । यस्तो अवस्थामा चुनावपछि राजनीतिक स्थिरता कायम भई स्पष्ट सरकार गठन भयो भने अर्थतन्त्र चलायमान हुने सम्भावना रहन्छ। तर सरकार बने पनि नीति अस्पष्ट, निर्णय ढिलो र शक्ति सन्तुलन कमजोर रह्यो भने चुनावपछिको उत्साह छिट्टै निराशामा बदलिन सक्छ।
चुनावपछि अर्थतन्त्र माथि उठ्न सबैभन्दा पहिले विश्वास पुनःस्थापना हुनुपर्छ। लगानीकर्ता, व्यवसायी र आम नागरिकले सरकार स्थिर छ, नीति स्पष्ट छ र निर्णय कार्यान्वयन हुन्छ भन्ने अनुभूति गर्नुपर्छ। तर विगतका अनुभवले देखाएको छ—सरकार गठनपछि सत्ता समीकरण मिलाउनमै लामो समय खर्चिने, नीतिगत प्राथमिकता स्पष्ट नगर्ने र प्रशासनिक सुधारलाई बेवास्ता गर्ने प्रवृत्तिले अर्थतन्त्रलाई गति दिन सकेको छैन।
चुनावको समयमा अर्थतन्त्रमा कस्तो प्रभाव
चुनावको समयमा सामान्यतया चुनावी तयारीदेखि लिएर मतदान र सरकारको चुनाव व्यवस्थापन खर्च, सार्वजनिक खर्च र बस्तु तथा सेवा उपभोगमा स्वभाविक वृद्धि हुन्छ । अघिल्ला चुनावहरुमा पनि यस्तो प्रभाव देखिसकेको छ । चुनावको लागि ठुलो बजेट छुट्याइन्छ जसमा सामग्री, सेवा तथा उपकरण खरिद समावेश हुन्छ । केन्द्रदेखि विभिन्न निकायसम्म हुने खर्चले आम नागरिकको खरिद शक्ति बढाउँछ ।
विशेष गरी खाना–पिउने, कपडा र वस्त्र, आवास र यातायात जस्ता क्षेत्रमा चुनावको समयमा माग बढ्ने गर्दछ । साथै, चुनावले साना र मध्यम समुदायमा श्रम–गहन व्यवसायहरू पनि बढाउँछ । जस्तै मुद्रण, कन्फेक्सनरी, सञ्चार र विज्ञापन, तथा निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी प्रवद्र्धन गर्ने क्षेत्रहरूमा काम बढ्छ । फागुन २१ को चुनाबका लागि अघिल्ला चुनाव भन्दा बजेट कहि कम भएपनि अर्थतन्त्र भने स्वभाविक रुपमा चलायमान हुन्छ ।
जीडिपि र घरायसी उपभोगमा प्रभाव
अप्रत्यक्ष रूपमा, चुनावले आम्दानी र घरेलु उपभोग बढाएर घरेलु उत्पादनको वृद्धिमा योगदान पु¥याउँछ । चुनावको समयमा उपभोग बढ्ने गर्छ, तर चुनावअघि र पछि घट्ने प्रवृत्ति देखिन्छ। अघिल्ला चुनावको वास्तविक जीडिपि को ट्रेन्ड अनुसार, चुनावअघि दुई त्रैमाससम्म आर्थिक वृद्धि सुस्त रहन्छ, त्यसपछि स्थिर हुन्छ र अन्ततः बलियो हुन्छ।
मुद्रास्फीति र सरकारी खर्चमा प्रभाव
चुनाव अघि त्रैमासमा सरकारी खर्च सुस्त रहन्छ र चुनावको समयमा बढ्छ । यो प्रवृत्ति नाममात्र र वास्तविक दुवै किसिमको वित्तीय खर्चमा देखिन्छ । त्यस्तै, चुनावको समयमा मुद्रास्फीति पनि विश्वव्यापी वस्तु मूल्य र इन्धन मूल्य वृद्धिबाट प्रभावित हुन्छ। उक्त समयमा मौद्रिक नीति मुद्रास्फीति व्यवस्थापन, मुद्रा चलन र आर्थिक वृद्धिको मार्गमा आधारित हुन्छ ।
लगानी र विदेशी लगानीमा प्रभाव
चुनावको समयमा लगानी सामान्यतया घट्छ, जसले अर्थतन्त्रलाई सुस्त पार्न सक् छ। राजनीतिक अस्थिरता जति बढी हुन्छ, लगानीको समायोजन पनि त्यति बढी हुन्छ । विदेशी प्रत्यक्ष लगानी पनि घटेर चुनावपछिको एक त्रैमाससम्म स्थिर रहन्छ । यसले लगानीकर्ताहरूले चुनाव परिणाम र त्यसले ल्याउने नियम, सुधार तथा व्यापार वातावरणमा प्रभावका विषयमा सावधानी अपनाउँछन् ।
शेयर बजारमा प्रभाव
चुनावअघि र चुनावको समयमा शेयर बजारमा सामान्यतया खरीद बिक्री बढ्ने र बजार कमजोर हुने प्रवृत्ति देखिन्छ । चुनावको तयारीका लागि आवश्यक ठूला रकमका कारण, कम्पनीहरूले दुईवटा रणनीति अपनाउँछन् । अनिश्चितता र नीतिगत अविरामको जोखिमका कारण, कम्पनीहरूले लगानी ढिला गर्छन् र वित्तीय लचकता कायम राख्नका लागि नगद वृद्धि गर्छन्। बैंकबाट ऋण लिन ढिलाइ गर्छन्, जसले बैंकमा नगद उपलब्धता सुनिश्चित गर्छ । यस्तै चुनावको समयमा कम्पनीहरूले नगद घटाएर उपकरण, कारखाना, सम्पत्ति जस्ता अचल सम्पत्तिमा लगानी बढाउँछन्। यसले राजनीतिज्ञहरूले नगदलाई प्रचार खर्चको स्रोतको रूपमा प्रयोग गर्ने जोखिम कम गर्छ ।
अर्थतन्त्रप्रति राजनीतिक दलको दृष्टि कस्तो हुनुपर्छ ?
निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू आ–आफ्ना घोषणापत्र तयार गर्ने प्रक्रियामा जुटेका छन्। यस्तो बेला दलहरूले अर्थतन्त्रलाई कसरी बुझ्छन् र केलाई प्राथमिक समस्या ठान्छन् भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण हुन्छ। आजको यथार्थमा नेपालको मुख्य समस्या स्रोतको अभाव होइन, उपलब्ध स्रोतको प्रभावकारी परिचालन नहुनु हो। यही यथार्थलाई आत्मसात् नगरी तयार गरिने घोषणापत्र नागरिकको भरोसा जित्न सक्दैन।
अर्थतन्त्रको वर्तमान चुनौती आमनागरिकको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिएको छ। व्यवसाय सञ्चालन गर्दा भोग्नुपरेका झन्झट, धेरै भए पनि स्पष्ट नभएका कानून, एउटै कामका लागि पटक–पटक सरकारी कार्यालय धाउनुपर्ने बाध्यता र नीतिगत अन्योलताले नागरिकलाई निराश बनाएको छ। राजनीतिक दलहरूले यी समस्यालाई कसरी समाधान गर्ने भन्ने स्पष्ट नीति र कार्ययोजना घोषणापत्रमा समेट्न सक्नुपर्छ। केवल समस्या औँल्याउने होइन, समाधानका उपाय, कार्यान्वयन प्रक्रिया र अपेक्षित परिणाम नागरिकले बुझ्ने भाषामा प्रस्तुत गर्न सकिए मात्र घोषणापत्र विश्वसनीय बन्न सक्छ।
आज नागरिकमा देखिएको सबैभन्दा ठुलो समस्या भनेकै उम्मेदवार र दलप्रतिको विश्वासको कमी हो। यसको समाधान नाराबाजीमा होइन, स्पष्ट र व्यवहारिक प्रतिबद्धतामा निहित छ। घोषणापत्रमा आकर्षक तर अवैज्ञानिक, साधन–स्रोतले नपुग्ने, प्रमाणले पुष्टि नगर्ने र सरकारमा पुगेपछि कार्यान्वयन गर्न नसकिने वाचा समेटिनु हुँदैन। नारा गन्तव्य देखाउने माध्यम मात्र हो, तर त्यो गन्तव्य यथार्थपरक र सम्भव हुनैपर्छ।
त्यसैले राजनीतिक दलहरूले घोषणापत्रमा विकास निर्माणका सूची प्रस्तुत गर्नुभन्दा सुशासन, स्पष्ट नीति निर्माण, झन्झटिला र अनावश्यक कानून हटाउने, प्रशासनिक प्रणाली सुधार्ने तथा निजी क्षेत्रलाई सहज वातावरण दिने विषयमा बढी ध्यान दिनुपर्छ। उम्मेदवारले “के बनाइन्छ” भन्नेभन्दा पनि “कसरी नीति बनाइन्छ र कसरी कार्यान्वयन हुन्छ” भन्ने स्पष्टता दिन सक्नुपर्छ।
अर्थतन्त्रसम्बन्धी दृष्टिकोण निर्माण गर्दा दलहरूले अर्थतन्त्रको आकार मात्र होइन, यसको गुणस्तरलाई पनि केन्द्रमा राख्न आवश्यक छ। देशका सबै भूगोल, क्षेत्र र प्रदेशमा रहेका स्रोत, तिनको प्रकृति, सम्भावना र सीमालाई ध्यानमा राख्दै विकासको मोडेल तय गर्नुपर्छ। भूबनोट, हावापानी, बजार, जनसङ्ख्याको संरचना र मानव विकासको अवस्थाअनुसार कृषि, पर्यटन, उद्योग र जलस्रोत क्षेत्रमा समानुपातिक रूपमा लगानी पुग्ने रणनीति अपरिहार्य छ।
यसका साथै सुशासनको बलियो आधारमा प्रविधि र सेवा क्षेत्रलाई समेत सँगै अघि बढाउन सके अर्थतन्त्रको आकार र गुणस्तर दुवैमा वृद्धि सम्भव छ। अबको घोषणापत्र केवल वाचाको दस्तावेज होइन, नागरिकको भरोसा जित्ने स्पष्ट मार्गचित्र हुनुपर्छ। यही अपेक्षा आजको समयले राजनीतिक दलहरूसामु राखेको छ ।


