Banijya News

प्रिमियम आईपीओका लागि एक दर्जन कम्पनी पाइपलाइनमा, कुन क्षेत्रका कति ?

1
1.2K Shares

धितोपत्र बजारमा प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न एक दर्जन कम्पनीले अनुमति मागेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता आवेदनअनुसार उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरू अग्रस्थानमा रहेका छन् । सेबोनको पाइपलाइनमा रहेका १२ कम्पनीमध्ये सात उत्पादन क्षेत्रका, दुई जलविद्युत, दुई अन्य क्षेत्रका र एक लगानी क्षेत्रका छन् ।

उत्पादन क्षेत्रअन्तर्गत जगदम्बा स्टील्स लिमिटेडले प्रति कित्ता ३०० रुपैयाँ दरमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ । शौर्य सिमेन्ट इन्डस्ट्रीज लिमिटेडले १ करोड ५९ लाख ८१ हजार ५०० कित्ता प्रतिकित्ता २६४.५१ रुपैयाँमा प्रस्ताव गरेको छ । त्यस्तै, मारुती सिमेन्ट्स लिमिटेडले १ करोड १६ लाख कित्ता प्रतिकित्ता ३७७ रुपैयाँ प्रिमियम मूल्यमा आईपीओ ल्याउन आवेदन दिएको छ ।

यसैगरी, ऋद्धिसिद्धि सिमेन्ट लिमिटेडले १ करोड २१ लाख ७१ हजार ५०० कित्ता प्रतिकित्ता २१४.१० रुपैयाँमा निष्कासनको अनुमति मागेको छ । अम्बे स्टील्स लिमिटेडले १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता ३०३ रुपैयाँमा, हुलास इन्फ्रा लिमिटेडले ३५ लाख ४७ हजार १८८ कित्ता ३३३.५६ रुपैयाँमा र हुलास आइरन इन्डस्ट्रीज लिमिटेडले ९७ लाख ५० हजार कित्ता २५५ रुपैयाँमा आईपीओ प्रस्ताव गरेका छन् ।

जलविद्युत क्षेत्रबाट सेन्चुरी एनर्जी लिमिटेडले २ लाख ३० हजार कित्ता प्रतिकित्ता २७५.११ रुपैयाँमा तथा नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले ३० लाख ६ हजार २०२ कित्ता प्रतिकित्ता २१८ रुपैयाँमा आईपीओ निष्कासनका लागि अनुमति पर्खिरहेका छन् । अन्य क्षेत्रअन्तर्गत कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेडले ३ लाख ५० हजार कित्ता प्रतिकित्ता ३२७ रुपैयाँमा र छाया देवी कम्प्लेक्स लिमिटेडले १४ लाख ३७ हजार ५०० कित्ता प्रतिकित्ता ४०० रुपैयाँमा प्रिमियम आईपीओ प्रस्ताव गरेका छन् । लगानी क्षेत्रबाट शिवम होल्डिङ्स लिमिटेडले १ करोड १६ लाख कित्ता प्रतिकित्ता २१० रुपैयाँमा आईपीओ निष्कासनका लागि निवेदन दिएको छ ।

हाल सेबोनमा कुल ९२ कम्पनी आईपीओ अनुमति प्रक्रियामा रहेका छन् । ती कम्पनीहरूले ५९ अर्ब ६३ करोड रुपैयाँ बराबरको ४१ करोड ६३ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेका छन् । पाइपलाइनमा रहेका कम्पनीमध्ये करिब एक दर्जनले प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रस्ताव गरेका हुन् ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी ३२ हाइड्रोपावर कम्पनी पाइपलाइनमा छन् । ती कम्पनीहरूले १५ करोड ७४ लाख ६१ हजार कित्ता सेयरमार्फत करिब १६ अर्ब १५ करोड रुपैयाँ संकलन गर्ने योजना बनाएका छन् । उत्पादन तथा प्रशोधन क्षेत्रका २५ कम्पनीले १५ करोड ४१ लाख कित्ता सेयरमार्फत ३१ अर्ब २७ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् ।

त्यस्तै, होटल तथा पर्यटन क्षेत्रका १२ कम्पनी, लगानी क्षेत्रका ४ कम्पनी, माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनी र अन्य विविध क्षेत्रका ११ कम्पनी पनि अनुमति पर्खिरहेका छन् । बजार विश्लेषकहरूका अनुसार एकैपटक ठूलो परिमाणमा आईपीओ बजारमा आउँदा तरलता प्रभावित हुन सक्छ । पछिल्लो समय द्वितीय बजारमा कारोबार सुस्त रहेको र लगानीकर्ताको मनोबल उतारचढावमा रहेकाले आईपीओको सफलता बजारको समग्र अवस्थामाथि निर्भर रहने देखिन्छ ।

ब्याजदर घट्दो क्रममा रहेकाले दीर्घकालीन लगानीका लागि आईपीओ आकर्षक बन्न सक्ने आकलन गरिए पनि, विशेषगरी परियोजनामुखी कम्पनीहरूको हकमा वित्तीय अवस्था र जोखिमको पर्याप्त मूल्यांकन गरेर मात्र लगानी गर्नुपर्ने विज्ञहरूको सुझाव छ । सेबोनले स्वीकृति प्रक्रियालाई पारदर्शी र छरितो बनाउँदै गुणस्तरीय कम्पनीलाई प्राथमिकता दिएमा आईपीओ बजारमा विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ । हाल पाइपलाइनमा रहेका कम्पनीहरूको निष्कासन भने बोर्डको अन्तिम स्वीकृतिपछि मात्र अघि बढ्नेछ ।

1

Scroll to Top