Banijya News

धमाधम शाखा मर्जरमा जाँदै बैंकहरू, यी बैंकले बन्द गर्दैछन् सय बढी शाखा

1
1.2K Shares

नेपाल राष्ट्र बैंकले महानगरपालिकाभित्रका शाखा समायोजन गर्न पाउने व्यवस्था गरेसँगै बैंकहरूले धमाधम शाखा मर्जर थालेका छन् । वाणिज्य बैंकहरूले निर्देशन जारी भएको २ महीना नबित्दै आधा दर्जन सयभन्दा बढी शाखा समायोजनका लागि सूचना जारी गरेका हुन् । राष्ट्र बैंकले निर्देशन जारी गरेको साढे २ महीना अवधिमै आधा दर्जन वाणिज्य बैंकहरूले सयभन्दा बढी शाखा समायोजन गर्न सूचना जारी गरेका हुन् । यसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकले ३९ ओटा शाखा समायोजन गर्दै छ । यसैगरी कुमारीले २४, नेपाल इन्भेष्टमेण्ट मेगाले १८, प्रभुले १४, एनएमबिले ४ र नबिल बैंकले तीनओटा शाखा बन्द गर्दै छन् ।

राष्ट्र बैंककोे निर्देशनअनुसार बैंकहरूले शाखा समायोजन गर्दा ९० दिनको समय दिएर सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार बैंकहरूले नजिकको शाखा तोकेर समायोजनका लागि सूचना जारी गरेका हुन् । राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिमा शाखा समायोजनाको प्रावधान ल्याउने घोषणा गरेको थियो । यसलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले मङ्सिर २९ गते निर्देशन जारी गरी बैंक, वित्तीय संस्थाले महानगरपालिकाभित्रका शाखाहरू समायोजन गर्न सक्ने व्यवस्था गरेको हो ।

एकै स्थानमा बैंकका धेरै शाखा अत्यधिक हुँदा अस्वस्थ प्रतिस्पर्धा भएको, सञ्चालन खर्च बढी भएको र शाखाहरू लामो समयदेखि घाटामा रहेकाले बन्द गर्न पाउनुपर्ने बैंकहरूले माग गर्दै आएका थिए । बैंकहरूले घाटामा रहेका शाखा बन्द गर्न पाउनुपर्ने माग गरे पनि राष्ट्र बैंकले भने तत्कालका लागि महानगरपालिका भित्रकालाई मात्र यस्तो सुविधा दिएको छ ।

राष्ट्र बैंकका अनुसार २०८२ पुसम्म वाणिज्य बैंकका ५ हजार ९२, विकास बैंकका १ हजार १२८ र वित्त कम्पनीका २९१ ओटा गरी कुल ६ हजार ५११ ओटा शाखा सञ्चालनमा छन् । २०८१ पुसमा वाणिज्य बैंकका ५ हजार ९९, विकास बैंकका १ हजार १३२ र वित्त कम्पनीका २९१ ओटा गरी कुल ६ हजार ५०० शाखा सञ्चालनमा थिए । अनुमति लिएर मात्र शाखा बन्द गर्न पाउने व्यवस्था अनुसार राष्ट्र बैंकले एकीकरणपछि एकै स्थानमा रहेका शाखाहरू मात्र गाभिने स्वीकृति दिँदै आएको थियो । यसका कारण बैंकहरूको शाखा घट्नुका साथै पछिल्लो समयमा विस्तार पनि न्यून थियो ।

कर्जा प्रवाह वृद्धि सुस्त हुनुका साथै बढ्दो खराब कर्जाका कारण आम्दानी घटेपछि बैंकहरूले खर्च घटाउन शाखा बन्द गर्ने योजना अघि सारेका हुन् । राष्ट्र बैंकले शाखा बन्द गर्न पाउने नीति जारी गर्नुअघि नै बैंकहरूले यसका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए । चालू आवको मौद्रिक नीति जारी गर्नुअघि राष्ट्र बैंकले डा रेवतबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले पनि बैंकहरूको शाखा बन्द गर्ने नीति ल्याउन सुझाव दिएको थियो । सोही सुझावका आधारमा राष्ट्र बैंकले शाखा समायोजनको नीति अघि सारेको हो ।

महानगरमा बैंकका शाखा समायोजन गर्न पाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई महानगरपालिका भित्र रहेका आफ्ना शाखाहरू घटाउने वा एकआपसमा गाभ्ने बाटो खोलिदिएको छ। पछिल्लो समय विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) को कारोबार बढ्दै गएको र महानगरहरूमा बैंकका शाखाहरूको सङ्ख्या उल्लेख्य रहेको भन्दै राष्ट्र बैंकले यस्तो नीति ल्याएको हो।

राष्ट्र बैंकले गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षा अनुसार अब बैंकहरूले महानगरपालिकामा रहेका आफ्ना शाखाहरूलाई स्वयम् समायोजन वा एकीकरण गर्न सक्नेछन्। समीक्षामा भनिएको छ, ‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन एकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ ।’ नयाँ व्यवस्था अनुसार अब एउटै क्षेत्र वा नजिकको दुरीमा रहेका एउटै बैंकका शाखाहरूलाई बैंकले चाहेमा बन्द गर्न वा अर्को शाखामा गाभ्न पाउनेछन्। डिजिटल बैंकिङको प्रयोग बढेसँगै भौतिक शाखामा ग्राहकको उपस्थिति कम गर्न राष्ट्र बैंकले यस्तो नीति अपनाउन खोजेको छ ।

1

Scroll to Top