धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे– नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नौबिसे–नागढुंगा सडकखण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाका अनुसार, नौबिसे नागढुंगा सडकखण्डअन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो । सोहीबमोजिम आयोजनाले धेरै काम सम्पन्न गरिसकेको छ ।
आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्र र खानीखोलामा अकासे पुल निर्माण गनुपर्ने छ । अन्तिम तहको कालोपत्रको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रङरोगनको काम सुरु गरिने आयोजनाले जनाएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ ।
अकासे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेका टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाइ भएको छ । पुल निर्माणलगायत मुख्य काम ३५ दिनभित्र सक्ने आयोजनाको दाबी छ । सडक निर्माण स्थानीय बासिन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभक्त हुँदा निर्माणमा समस्या हुँदै आएको छ ।
अकासे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई सार्ने काम सकिएकाले पनि कामले गति लिने विश्वास आयोजनाले लिएको छ । सगुन कन्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का निर्वाचनका कारणले निर्माणमा केही ढिलाइ हुने बताउँछन् । यसअघि सडकमा रहेका विद्युत् पोलका कारण पनि निर्माणकार्य प्रभावित हुँदै आएको थियो । ०७९ बाट निर्माण सुरु गरिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।


