चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) सम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा त्यसको करिब आधा २ खर्ब १४ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढे पनि कर्जा प्रवाह कम भएको देखिन्छ । यसअनुसार गत आर्थिक वर्ष ११ फागुन २०८१ सम्म बैंक तथा वित्तीय संस्थाले २ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब ७२ अर्ब कर्जा प्रवाह गरेका थिए ।
चालु वर्ष विस्तारकारी बजेट र मौद्रिक नीति आएकाले कर्जा प्रवाह बढ्ने र बैंकहरूमा थुप्रिएको ऋणयोग्य रकम घट्ने अपेक्षा थियो । सुरुका महिनामा कर्जा माग बढ्ने संकेत देखिन थालेका थिए । तर करिब साढे सात महिनाको कर्जा प्रवाहको तथ्यांकले राष्ट्र बैंकको उद्देश्य भेटाउन सक्ने कुनै सम्भावना छैन । कर्जा प्रवाह नभएकै कारण बैंक तथा वित्तीय संस्थामा लगातार १० खर्बभन्दा बढी ऋणयोग्य रकम (अधिक तरलता) थुप्रिएको छ ।
मुलुकमा लगानी वातावरण सुध्रिन नसकिरहेका बेला २३ भदौको जेन–जी आन्दोलन र २४ को प्रदर्शनपछि सिर्जित अस्थिर परिस्थितिले अवस्था झनै बिग्रेको छ । ब्याजदर घटेर इतिहासकै न्यून विन्दुमा ओर्लेको छ । अर्थतन्त्रको सामान्य सिद्धान्तअनुसार ब्याजदर कर्जा प्रवाहबीच उल्टो सम्बन्ध हुन्छ । ब्याजदर घट्दा ऋण बढ्ने र बढ्दा घट्ने हो । चालु आर्थिक वर्ष राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य तय गरेको छ । यसका लागि करिब साढे ५ खर्ब रुपैयाँ थप कर्जा विस्तार गर्नुपर्छ । सात महिनासम्मको अवस्था हेर्दा वार्षिक लक्ष्य भेट्ने सम्भावना नरहेको जानकार बताउँछन् ।
चालु आर्थिक वर्षको सात महिना सकिँदासम्म बैंक तथा वित्तीय संस्थामा सवा १२ खर्ब ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । करिब तीन वर्षअघिदेखि बैंकहरूमा तरलता थुप्रिँदै आएको छ । पछिल्ला दिनमा रेमिट्यान्समा आएको बढोत्तरीले बैंकमा पैसा थुप्रिने क्रम तीव्र बनेको हो । ११ फागुनसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७७ खर्ब ३५ अर्ब छ । सोही अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.२९ प्रतिशत छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५८ खर्ब ५ अर्ब छ । उल्लिखित तथ्यांकका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा १२ खर्ब २७ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (अधिक तरलता) देखिन्छ । तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको २० प्रतिशत रकम बैंकमा नगद राख्नुपर्छ ।
यसरी सबै बैंक तथा वित्तीय संस्थाले २० तरलता कायम गर्नका लागि आफूसँगै राख्नुपर्ने रकम सीडी अनुपातको करिब १ प्रतिशत हुन आउँछ । यसका आधारमा बैंकलाई निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न छुट भए पनि व्यवहारमा उनीहरूले ८९ प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउँछन् । यसका आधरमा पनि हाल बैंक तथा वित्तीय संस्था ऋण दिन मिल्ने ११ खर्ब ४९ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ ।
बैंकमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले क्षेत्रगत कर्जाको दायरा र सीमा परिमार्जन गर्ने घोषणा गरेको छ । मंगलबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र्र बैंकले क्षेत्रगत कर्जाको दायरा विस्तार गर्ने र ती क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने न्यूनतम कर्जा अनुपातसम्बन्धी विद्यमान दर पनि परिमार्जन गर्न लागेको जनाएको हो । जसमा कृषि, ऊर्जा र लघु, घरेलु तथा साना उद्यम÷व्यवसायमा कर्जा विस्तार प्रोत्साहन गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको क्षेत्रगत कर्जा सीमाको दायरामा पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगहरूसमेत समावेश गरिने राष्ट्र बैंकको तयारी छ ।
समीक्षामार्फत कर्जा प्रवाहमा सहजीकरण, सूचना प्रविधिलगायत एआईको क्षेत्रमा कर्जा प्रवाहलाई प्रोत्साहन गर्न खोजेको छ । बैंकहरूलाई लगानी सम्भावनाका क्षेत्रहरूमा थप प्रोत्साहन गरेर उत्पादन तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी विस्तार गर्न, लगानी विविधीकरण गर्न र ऋणीलाई ऋण तिर्ने प्रक्रियामा सहजीकरण गरेर समग्र आर्थिक क्रियाकलाप बढाउन खोजिएको राष्ट्र बैंकको दाबी छ । यसका लागि राष्ट्र बैंकले चालु पुँजी कर्जामा थप लचिलो, परिस्थितिजन्य कारणले अप्ठ्यारोमा परेका ऋणीलाई कर्जाको पुनर्तालिकीकरण, पुनःसंरचनालगायत सुविधा दिने घोषणा मौद्रिक नीतिमा गरिएको छ ।


