स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक गरिएको ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजनाको स्वागत गरेको छ । इप्पानले विज्ञप्ति जारी गर्दै उक्त कार्ययोजना कार्यान्वयन भएसँगै मुलुकको ऊर्जा विकासमा गति लिनुका साथै सकारात्मक नजिता ल्याउनेमा विश्वास व्यक्त गरेको हो ।
इप्पानमा हाल मुलुकका ५७० भन्दाबढी निजी ऊर्जा कम्पनी आबद्ध रहेका छन् । इप्पानका अनुसार मुलुकको कुल विद्युत् उत्पादन क्षमता करिब चार हजार मेगावाट नाघिसकेको छ । यसमा निजी क्षेत्रको योगदान तीन हजार ३५० मेगावाटभन्दा बढी रहेको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
साथै निजी क्षेत्रबाट करिब पाँच हजार ७०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १३ हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) को प्रतीक्षामा रहेका उनले उल्लेख गरे । थप १५ हजार मेगावाट क्षमता बराबरका आयोजना सम्भाव्यता अध्यायनको चरणमा रहेका इप्पानले जनाएको छ ।
इप्पानका अनुसार हालसम्म निजीक्षेत्रले ऊर्जा क्षेत्रमा करिब १३ खर्ब १० अर्ब लगानी गरिसकेको छ । आगामी १० वर्षभित्र थप ३० खर्ब बराबरको लगानी गर्ने तयारीमा निजी क्षेत्र रहेका विज्ञप्तिमा जनाइएको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ सरकारले १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।
इप्पानका अध्यक्ष कार्कीले दुई तिहाइ नजिकको बहुमतसहित बनेको सरकारको उक्त लक्ष्यले निजी क्षेत्रका लगानीकर्तामा उत्साह थपिएको बताए । सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाउने घोषणा गरिएको बताउँदै उनले यो स्वागतयोग्य कदम रहेको धारणा राखे ।
‘विशेषगरी लामो समयदेखि रोकिएका पीपीएहरू अधिकतम १८० दिनभित्र खोल्ने निर्णयलाई इप्पानले सकारात्मक कदमका रूपमा लिएको छ’, अध्यक्ष कार्कीले भने, ‘यसबाट पीपीएका लागि आवेदन दिएका आयोजना यथाशीघ्र अगाडि बढ्ने अपेक्षा गरिएको छ ।’


