अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा सोमबार अर्थमन्त्री वाग्लेले ‘ग्रे लिस्ट’ले अन्तर्राष्ट्रिय बदनामी भएकाले प्राथमिकता दिएर तोकिएको समयमै त्यसबाट बाहिर लिकाल्न सरकार सरकार लागि परेको बताएका हुन् ।
यसले लगानीको वातावरणमा नकारात्मक असर पार्ने पनि उनले बताए । सम्पत्ति शुद्धीकरणलगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा अघि बढेका मुद्दाहरूमा आधारित हुने पनि उनले बताए । यदि उद्योग व्यवसायीले ठूलो वित्तीय अपराध गरेका छन् भने पनि तीनलाई ठूलो आर्थिक जरिवाना नै गर्ने उद्देश्य सरकारको रहेको पनि उनले बताए । ‘संस्था वा व्यक्ति छानेर दु:ख दिने हाम्रो कुनै नियत छैन । हामी खुलाबजार अर्थनीति मान्छौँ । त्यो भनेको छाडा अर्थतन्त्र होइन,’ उनले भने ।
अन्य अपराधहरूमा न्याय निरूपणको काम अदालतबाट हुने पनि अर्थमन्त्री वाग्लेले बताए । ‘कसैलाई लक्षित गरेर कारबाही गर्ने होइन, कानुनअनुसार अघि बढाउने मात्र हो,’ उनले भने, ‘अपराधबाट कसैलाई छुट दिने होइन । तर निजी क्षेत्रलाई धरपकड गर्ने होइन ।’
गैरकानुनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानुनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्य नै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) हो । गैरकानुनी कार्यबाट आर्जित धन–सम्पत्ति पहिचान गर्ने, कारबाही गर्ने र त्यस्ता आर्जन नियन्त्रण गर्ने एकीकृत प्रणाली नै सम्पत्ति शुद्धीकरण निवारण हो । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा वित्तीय लगानीजस्ता गैरकानुनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण र समयानुकूल परिमार्जन गर्दै गएको छ ।
एफएटिएफका मापदण्ड कार्यान्वयन गर्ने उद्देश्यले क्षेत्रीयस्तरमा स्थापना भएका नौवटा क्षेत्रीय संस्थाले काम गर्दै आएका छन् । एसिया प्रशान्त क्षेत्रका लागि एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपिजी)ले काम गर्दै आएको छ । नेपालले एफएटिएफ र एपिजीले बनाएका मापदण्डअनुसार नै कार्य गर्दै आएको छ । सरकारले तोकिएको म्यादभन्दा अघि नै सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिर निस्कने घोषणा गरिसकेको छ । सोहीअनुसार सरकारले सम्पत्ति शुद्धीकरण निवारण र आतंकवाद क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि नियम तथा मापदण्ड बनाउने एवं अनुसन्धान र अभियोजन बढाउने कार्यलाई गति दिन थालेको छ ।
नेपाल किन ग्रे लिस्टमा परेको हो ?
अपराध र त्यसबाट सम्पत्ति आर्जन गर्ने क्रियाकलापमाथि नियन्त्रण गर्न नसकेकाले नेपाल जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट)मा परेको छ । अपराधबाट आर्जित सम्पत्ति व्यवस्थापन (सम्पत्ति शुद्धीकरण)वारे विश्व्यापी अनुगमन गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राखेको हो । पहिलो, फाइनान्सियल एक्सन टास्क फोर्सले अपराधबाट आर्जन हुने सम्पत्तिले निम्त्याउने जोखिमवारे थप संवेदनशील हुनुपर्ने र जोखिमहरु पहिल्याउनुपर्ने औंल्याएको छ । दोस्रो, एफएटीएफले जोखिमको पहिचान गरी त्यसमा आधारित अनुगमन र निगरानीलाई बढाउनुपर्ने भनेको हो । उसले वाणिज्य बैंकहरू, उच्च जोखिममा रहेका सहकारीहरू, क्यासिनोहरू, खानी तथा खनिजपदार्थ कारोवार हुने क्षेत्रलाई स्पष्टसँग औल्याएको छ । त्यसबाहेक घरजग्गा व्यवसायसँग सम्बन्धित कारोबारमाथि निगरानी गर्न भनेको हो ।
तेस्रो, फाइनान्सियल एक्सन टास्क फोर्सले अपराधबाट आर्जन हुने पैसाको कारोवारमाथि उच्च निगरानी गर्न र त्यस्तो भेटिए तत्काल कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिएको हो । उसले पैसा वा मूल्यवान वस्तुको कारोबारमाथि राज्यका निकायहरुले चनाखोपन बढाउनुपर्ने सुझाव दिएको छ । नेपालमा समस्याको रुपमा देखिएको हुण्डिको कारोबारलाई पनि उसले इंगित गरेको छ ।
चौथो, गत वर्षको कानून संशोधनले अवैध सम्पत्तिमाथिको अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको एकाधिकार दर्जनभन्दा बढी निकायमा पुगेको छ । एफएटीफले अनुसन्धानको क्षमता बढाउन, नेपालका निकायहरू बीचको समन्वयलाई थप प्रभावकारी बनाउन सुझाव दिएको छ ।
पाँचौ, फौजदारी मुद्दाहरुको अभिलेख हेर्ने हो भने आर्थिक क्षेत्रसँग सम्बन्धित अपराध बढ्दै गइरहेको देखिन्छ । तर, त्यसको अनुपातमा नेपालले अपराधबाट आर्जन हुने सम्पत्तिमाथिको अनुसन्धान र मुद्दा चलाउने कामलाई करिबकरिब निष्क्रिय बनाएको थियो । पेरिसको प्लेनरी बैठकले अपराधबाट आर्जन हुने सम्पत्ति र त्यसको व्यवस्थापन (सम्पत्ति शुद्धीकरण)माथिको अनुसन्धान र मुद्दा दायर गर्ने क्षमता बढाउन सुझाव दिएको हो ।
छैठौं, अपराधबाट सम्पत्तिको आर्जन गरी त्यसको व्यवस्थापन गरिरहेको कतिपय व्यक्तिहरुमाथि राज्य निर्मम हुन नसकेको भनी नेपालको आलोचना भइरहेको छ । एफएटीएफले उनीहरुको पहिचान गर्न, तिनका गतिविधिहरूलाई निगरानी गर्न भनेको छ । उनीहरुले अपराधबाट संकलन गरेको सम्पत्तिको पहिचान गरी तिनलाई जफत गर्ने कामहरुलाई अघि बढाउनु सुझाव दिएको हो ।
सातौं, एफएटीएफले आतंकवाद तथा हातहतियारमा हुने लगानी निरुत्साहित गर्न अपनाइएका प्रतिबन्धहरुको पालना गर्न सुझाव दिएको हो । वैध वा अवैध दुवै उपायबाट आर्जन भएको सम्पत्ति अपराधमा प्रयोग हुने जोखिम रहने भन्दै उसले नेपाललाई त्यस्ता क्रियाकलापमाथिको निगरानी बढाउनुपर्ने भनी सुझाव दिएको हो । सम्पत्ति अपराध नियन्त्रणका लागि नेपालले स्थापना गरेका संयन्त्रहरुमाथि खासै प्रश्न थिएन । तर तिनले प्रभावकारी काम गर्न नसक्दा अन्तराष्ट्रिय छविमा धम्का आउनेगरी नेपाल ग्रे लिस्टमा परेको हो ।
नेपाल दोस्रोपटक जोखिमपूर्ण मुलुकको सूचीमा परेको हो । यसअघि सन् २०१० मा पनि नेपाल ग्रे लिस्टमा परेको थियो । एफएटीएफको सुझाव कार्यान्वयन गरेर सम्पत्तिसम्बन्धी अपराध र त्यसको नियन्त्रणका प्रयास गरेपछि जोखिमपूर्ण सूचीबाट बाहिरिएको थियो । एफएटीएफले आफूले दिएको सुझावसँग सम्बन्धित विस्ततृत कार्ययोजना बनाई नेपाललाई पठाउनेछ । ‘ग्रे-लिस्ट’ परेको नेपालले सुझावका आधारमा आफ्नो कामकारवाही प्रभावकारी बनाएर निगमित रुपमा प्रगति विवरण उसलाई पठाउनुपर्नेछ ।
कार्ययोजना अनुसार नेपालले अपराधबाट आर्जित सम्पत्ति व्यवस्थापनमा कडाई गर्नुपर्नेछ । नियमित समीक्षा र त्यसपछिको प्रगतिको आधारमा उसले नेपालबारे थप निर्णय लिनेछ । दुई वर्षका लागि नेपाल ‘जुरिस्डिक्सन अण्डर इक्क्रिज्ड मोनिटरिङ(बोलीचालीको भाषामा ग्रे लिष्ट)मा परेको भएपनि अर्थमन्त्री विष्णु पौडेलले त्योभन्दा अगाडि नै सुधारहरु गरेर नेपाल सूचीबाट बाहिरने प्रतिक्रिया दिएका छन् ।
किन खस्कियो छवि ?
फाइनान्सियल एक्सन टास्क फोर्स अन्तर्गतको एसिया प्यासिफिक ग्रुपले नेपालमा अपराधबाट आर्जित सम्पत्तिको व्यवस्थापन र त्यसको रोकथामका लागि राज्यले गरेको प्रयासहरुको निगरानी र मूल्यांकन गरिरहेको थियो । उसले त्यसक्रममा प्राविधिक परिपालना र राज्यका संयन्त्रहरुको प्रभावकारिताको बारेमा मूल्यांकन गरिरहेको थियो । नेपालले पालना गर्नुपर्ने ४० वटा मापदण्डमध्ये ५ वटा पूर्ण रुपमा परिपालना गरेको छ । उसले गत वर्ष नै केही सुधारका विषयहरु औंल्याउँदै नेपाललाई चेतावनी दिइसकेको थियो । बाँकी १६ वटा मापदण्ड आंशिक रुपमा मात्रै कार्यान्वयन भएका छन् । कुल ४० वटा टेक्निकल कम्प्लाइन्सेज (प्राविधिक परिक्षण)मा अरु १६ वटा र थप ३ वटा गरी १९ वटा मापदण्डको नेपालमा पालना हुनै सकेको छैन । नेपालले जसोतसो २१ अंक पाएको थियो ।
राज्यले सम्पत्तिसम्बन्धी अपराध नियन्त्रणका लागि विभिन्न संयन्त्रहरु निर्माण गरेपनि त्यस्ता क्रियाकलापमाथि लगाम लगाउने राज्यका औजारहरू कमजोर भएको भनी एपीजीले गत वर्ष नै प्रतिवेदन दिएको थियो । उसले ११ वटा क्षेत्रको प्रभावकारिता अध्ययन गरेकोमा चारवटा क्षेत्रमा मात्रै नेपालको मध्यमस्तरको प्रगति देखिएको थियो, बाँकी सात वटामा नेपालको भूमिका कमजोर थियो ।
गत वर्ष एपीजीले विभिन्न सुझावहरू दिँदै सुधारका लागि एक वर्षको समयसीमा तोकेको थियो । यो अवधिमा कानून निर्माण, कारबाहीको क्षेत्राधिकार विकेन्द्रीकरण गरेको देखिए पनि सम्पत्ति शुद्धीकरणमाथि राज्यका औजारहरुको सक्रियता बढेको देखिएन । अन्ततः नेपाल जोखिमपूर्ण मुलुकको सूची (ग्रे–लिस्ट)मा परेको हो । एफएटीएफको एसिया प्यासिफिक ग्रुपले नेपालवारे पारस्परिक मूल्यांकनका क्रममा कैयौ बेथितिहरु औंल्याएको थियो । उसले सैद्धान्तिक रुपमा नेपालमा आर्थिक अपराधको संख्या बढ्दै गइरहे पनि त्यसको अनुपातमा सम्पत्ति शुद्धीकरणमाथिको अनुसन्धान र अभियोजन हुन नसकेको औंल्याएको थियो ।


