ऊर्जा उद्यमीहरूले ऊर्जाक्षेत्रका नीतिगत तथा प्रक्रियागत समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की र उपमहासचिव प्रकाश दुलालले निजीक्षेत्रमाथि दोहोरो नियमन, ढिला अनुमतिपत्र र अवरोधको अन्त्य गर्न तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेका हुन् । बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा ऊर्जा उद्यमीहरूले नीतिगत र प्रक्रियागत समस्या छुट्ट्याएर काम गर्दा तीन महीनाभित्र ठोस नतीजा दिन सकिने दाबी गरेका छन् । इप्पानका अध्यक्ष कार्कीले निजीक्षेत्रलाई सहजीकरण गर्न स्थापित संस्थाहरू अहिले नियमन र जरीवाना गर्ने काममा रमाइरहेको टिप्पणी गरे ।
जलविद्युत् आयोजनाको ढिला अनुमतिपत्र र रुख कटानको विषयमा पनि इप्पानले सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै स्थानीयलाई शेयर दिनुपर्ने विषय कानूनमै व्यवस्था भए पनि, धितोपत्र बोर्डले आईपीओकोअनुमति नदिँदा स्थानीयले दुःख दिएकोबारे पनि उनले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । सिडिएससीले दोहोरो आइजिनको विषयमा १४ महीनादेखि संस्थापक शेयर सूचीकृत नगर्दा २२ कम्पनीका लगानीकर्ता मर्कामा परेको अध्यक्ष कार्कीले बताए । सर्वोच्च अदालतले निकुञ्ज क्षेत्रमा काम गर्न नपाउने आदेश दिँदा २० हजार मेगावाटका आयोजना बन्न नसक्ने अवस्था आएको उनको भनाइ थियो । इप्पानका उपमहासचिव दुलालले आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष बनाउन, उत्पादित विद्युत्को बजार खोज्न, आरसीओडीको म्याद थप गर्न, विद्युत् खरीद सम्झौता गर्न र रुख कटान अनुमति नपाएर रोकिएका आयोजनाको फाइल अघि बढाउन सरकारले महीनौं कुर्नु नपर्ने बताए । जलविद्युत् आयोजना सञ्चालन गर्ने उद्योगलाई लाइसेन्स अवधिभर नवीकरण गर्न नपर्ने व्यवस्था गर्ने, आईपीओ जारी हुने वातावरण बनाउने र दोहोरो आइजिनको विवाद समाधानमा पनि ढिलाइ गर्न नहुने उनले सुझाए ।
इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारले थप प्रसारणलाइन बनाउन नसक्ने भएकाले निजीक्षेत्रलाई जिम्मा दिएमा ३ वर्षमा सबै प्रसारण लाइन बनाउन सकिने बताए । भेटमा मन्त्री श्रेष्ठले इप्पानलाई सरकारले सरोकारवालाभन्दा पनि साझेदार संस्थाको रूपमा अघि बढाउन चाहेको बताए । नवगठित सरकारले ऊर्जालाई प्राथमिकता दिएकाले आगामी बजेटबाट समेत यसलाई सम्बोधन गरिने आश्वासन दिए ।


