सरकारले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गर्दै खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ । सरकारले आगामी १० वर्ष (आर्थिक वर्ष २०९२/९३) सम्म विद्युतीय चुल्होमा अनुदान दिने निती तयारी गरेको हो ।
ऊर्जा मन्त्रालयका अनुसार विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने सरकारको लक्ष्य छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनताको सुझावका लागि उक्त रणनीति सार्वजनिक गरेको हो । उक्त रणनीतिमा खाना पकाउने एलपी ग्यासको प्रयोग घटाउँदै न्यून गर्ने लक्ष्य राखिएको छ ।
भन्सार विभागका अनुसार, चालु आर्थिक वर्षको चैतसम्म ४१ लाख टन ग्यास आयात भएको छ । यस अवधिमा ४१ अर्ब ६५ करोड रुपैयाँको खाना पकाउने ग्यासको आयात भएको हो । गत वर्ष २०८१/८२ मा ५५ लाख टनको ६२ अर्ब ५८ करोड रुपैयाँको ग्यास आयात भएको थियो । अघिल्लो आव २०८०/८१ मा ५५ अर्ब रुपैयाँको ग्यास आयात भएको तथ्यांक छ ।
नेपाल आयल निगमका अनुसार, चालु आवमा मासिक ४८ हजार टन ग्यास आयात हुँदै आएको छ । हाल निगमले प्रतिसिलिन्डर २ हजार १ सय ६० रुपैयाँमा बिक्री गर्दै आएको छ । यसमा निगमलाई प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ २५ पैसा घाटा हुने गरेको छ । बर्सेनि खाना पकाउने ग्यासको लागि ठूलो धनराशि खर्च हुने गरेको छ । यही रकम कटौती गर्ने उद्देश्यका ऊर्जा मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ तय गरेको जनाएको छ ।
यसअघि नै कतिपय स्थानीय तहले खाना पकाउने विद्युतीय चुल्होमा अनुदान दिन थालेका छन् । नेपाल विद्युत् प्राधिकरणले त यसअघि नै विद्युतीय चुल्हो प्रयोगको अभियान अगाडि बढाएको हो । विद्युतीय चुल्होको प्रयोग बढाउन प्राधिकरणले प्रसारण लाइनको क्षमता वृद्धि, ट्रान्सफर्मर तथा प्रसारण सञ्जालको आधुनिकीकरण गर्दै लगेको छ ।
ऊर्जा मन्त्रालयले हालसम्म देशभरको विद्युत् जडित क्षमता ४ हजार २ सय ९६ मेगावाट पुगेको जनाएको छ । चालु आवमा २ सय ४ मेगावाट थपिने भएको छ । यसबाट प्रतिव्यक्ति विद्युत् खपत ४ सय ५० किलोवाट पुग्नेछ ।
सार्वजनिक सवारी साधनसमेत विद्युतीय सवारी (ईभी) मा जोड दिने उद्देश्यले पेट्रोल पम्पहरू पनि चार्जिङ स्टेसनको सुविधा दिने नीति अघि सारिएको छ । यसमा प्राधिकरण र निजी क्षेत्रलाई समेत सक्रिय बनाउने योजना रहेको छ । आव २०८५/८६ सम्ममा देशैभरि निश्चित दूरीमा चार्जिङ स्टेसनको सञ्जाल विस्तार गर्ने सरकारको लक्ष्य छ । यसबाट विद्युतीय सवारीसाधनको प्रयोगमा बढोत्तरी हुनेछ ।
त्यसैगरी, प्रमुख सहरहरूमा विद्युतीय बस सञ्चालन गर्ने योजना रहेको छ । ट्रली बस पुनः सञ्चालन गरी बिजुली खपत क्षमता बढाउने र यातायात सेवा प्रदान गर्ने सरकारको लक्ष्य छ । कृषि क्षेत्रमा प्रयोग हुने सिँचाइ पम्पमा प्रयोग हुने विद्युतीय महसुलमा छुट दिई डिजेलको खपत कम गर्ने योजना तय भएको छ ।


