अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई सरकारले शंकाको दृष्टिले नभई राष्ट्र निर्माणको अभिन्न साझेदारको रूपमा हेर्ने बताएका छन् । उनले उद्यमीहरूलाई ढुक्क भएर थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरेका छन् ।
मुलुकमा २० वटा ठूला करदाता तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको सोमबार भएको छलफलमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई आर्थिक विकासको साझेदारका रूपमा हेर्ने बताएका हुन् ।
छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीको वातावरण निर्माण गर्दै निजी क्षेत्रलाई थप लगानी, उद्योग विस्तार र नयाँ रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् । उनले व्यवसायीहरू केवल मुनाफा कमाउने प्रतिनिधि मात्र नभई देशको सबैभन्दा ठूलो करदाता, रोजगारदाता र अग्रणी लगानीकर्ता भएको बताएका छन् ।
सरकार र निजी क्षेत्रबीचको यो संवाद औपचारिक भेटघाट मात्र नभएर नयाँ विश्वास र सहकार्यको सुरुवात भएको उल्लेख गर्दै उनले अर्थतन्त्रको रूपान्तरणका लागि दुवै पक्षले सँगसँगै नेतृत्व गर्नुपर्नेमा जोड दिए ।
छलफलमा नेपालका प्रतिष्ठित २० कम्पनीहरूको सहभागिता रहेको थियो । मन्त्री वाग्लेले सूर्य नेपाल प्रालि, एनसेल आजियाटा लिमिटेड, आरती स्ट्रीप्स प्रालि, गोर्खा ब्रुअरी प्रा. लि. र हिमालय एअरलाइन्सका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरेका थिए ।
त्यसैगरी, होङ्शी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी कम्पनी लिमिटेड, डाबर नेपाल (प्रा.) लि., बोटलर्स नेपाल (तराई) लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, एशियन पेन्ट्स (नेपाल) प्रालि र पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइनाका नेतृत्वसँग पनि मन्त्रीले छलफल गरे ।
बैठकमा गोर्खा लाहारी प्रालि, हुवासिन सिमेन्ट नारायणी प्रालि, न्यू होप एग्रो बिजनेस नेपाल प्रालि, नेपाल वेलहोप एग्रि–टेक प्रालि, वरुण वेभरेज नेपाल प्रालि, टर्किस एअरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए । उनले अबको सरकारी प्राथमिकता केवल कर संकलनमा मात्र सीमित नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु रहेको उल्लेख गरे ।
उनले उद्योगले कमाएको नाफा पुनःलगानी हुँदा उत्पादन विस्तार, रोजगारी सिर्जना, आम्दानी वृद्धि र बजार विस्तार हुँदै अन्ततः राज्यको राजस्वसमेत बढ्ने बताए । उनले निजी क्षेत्रको सफलतालाई नै नेपालको आर्थिक सफलताको आधार मानिएको स्पष्ट पारे । साथै, निजी क्षेत्रको विस्तारलाई नै समग्र अर्थतन्त्रको विस्तारका रूपमा लिनुपर्ने उल्लेख गरे ।
लगानीकर्तामा विश्वास जगाउन नियमको स्थिरता र कर प्रणालीको पूर्वानुमेयता अनिवार्य रहेको बताउँदै मन्त्री वाग्लेले उद्यमीहरूलाई ढुक्क भएर थप लगानी गर्न र उद्योग विस्तार गर्न आग्रह गरे । उनले व्यवसायीहरूसँग कर प्रशासन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार र कानुनी व्यवस्थामा रहेका मुख्य अवरोधहरूका बारेमा जानकारी मागेका थिए ।
विशेषगरी आगामी ६ महिनाभित्र सरकारले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाँच निर्णयहरू के–के हुन् भनी उनले व्यवसायीहरूसँग ठोस सुझाव माग गर्दै यो संवादलाई समाधानको कार्यसूची बनाइने प्रतिबद्धता व्यक्त गरे ।
उठेका विषयहरूको कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा रहेको ‘रेस्पोन्स डेस्क’ मार्फत समयबद्ध अनुगमन र समन्वय गरिने मन्त्री वाग्लेले जानकारी दिए । यो संवाद एकपटकको मात्र नभएर समस्या समाधान नभएसम्म निरन्तर चलिरहने शृङ्खला हुने उनले बताए ।
इमानदारीपूर्वक कर तिर्ने व्यवसायीहरूलाई राष्ट्र निर्माणको साझेदारका रूपमा उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यम गर्न प्रेरणा मिल्ने वातावरण निर्माण गर्न सरकारले चाहेको बताए ।
नेपाललाई लगानीमैत्री, व्यवसायमैत्री र उत्पादनमुखी अर्थतन्त्रका रूपमा विकास गर्ने लक्ष्यसहित सरकार अघि बढेको भन्दै अर्थमन्त्री वाग्लेले आगामी दशकलाई ठूलो लगानी, उत्पादन, रोजगारी र आर्थिक आत्मविश्वासको दशक बनाउन सबैलाई आह्वान गरेका छन् ।

