नेपालको राष्ट्रिय बजेटमा वैदेशिक विकास सहायताको हिस्सा क्रमशः घट्दै गएको छ । नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकतर्फ स्तरोन्नति हुने प्रक्रियामा रहेकाले दातृ निकायहरूले दिने अनुदान सहयोगमा कटौती गरी ऋण सहायतामा बढी जोड दिन थालेका छन् । जसका कारण नेपालको विकास वित्तको संरचनामा ठुलो फेरबदल आएको छ ।
अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये विकास सहायताबाट दुई खर्ब ८७ अर्ब रुपैयाँ परिचालन गरिने लक्ष्य छ । यसमध्ये अनुदानको हिस्सा मात्र ५३ अर्ब ४५ करोड रुपैयाँ छ भने ऋणको हिस्सा दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । उक्त तथ्याङ्कले नेपालको विकास प्रक्रिया अब अनुदानमा भन्दा बढी ऋणमा आश्रित हुँदै गएको देखाएको छ ।
विगतका वर्षहरूको तुलना गर्दा विकास सहायता परिचालनको लक्ष्यमा निकै उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा एक खर्ब १० अर्बको लक्ष्य राखिएकोमा आव २०८१/८२ सम्म आइपुग्दा यो लक्ष्य दुई खर्ब ५ अर्ब नाघेको थियो । मन्त्रालयका अधिकारीहरूका अनुसार अनुदान रकम घट्नुको मुख्य कारण नेपालको आर्थिक स्तरोन्नति नै हो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार आयस्तर बढ्दै जाँदा दातृ निकायले सित्तैमा दिने सहायता घटाउँने र सहुलियतपूर्ण ऋणको बाटो रोज्ने गर्दछन ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालले ६५ अर्ब ३९ करोड रुपैयाँको विकास सहायता प्रतिबद्धता प्राप्त गरेको छ । यसमा अनुदानको हिस्सा जम्मा २९.४४ प्रतिशत छ भने ७०.५६ प्रतिशत हिस्सा सहुलियतपूर्ण ऋणको छ । क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी ५२.५४ प्रतिशत प्रतिबद्धता पूर्वाधार विकासमा प्राप्त भएको छ भने बजेटरी सहायता, जलवायु वित्त र सामाजिक क्षेत्रमा पनि केही हिस्सा प्राप्त भएको छ ।
नेपालका प्रमुख राजनीतिक दलहरूले चुनावका बखत र सार्वजनिक मञ्चहरूमा ४५ लाख युवालाई स्वदेशमै रोजगारी दिने आकर्षक नारा बाँड्दै आएका छन् । तर, बजेटको वास्तविक स्रोत र वैदेशिक सहायताको यो चित्रले ती नारामाथि प्रश्न ठड्याएको छ । वैदेशिक सहायताको ठुलो हिस्सा पूर्वाधार र ऋण भुक्तानीमा खर्च भइरहँदा, औद्योगिक विस्तार र उत्पादनमूलक क्षेत्रमा प्रत्यक्ष लगानीको अभाव देखिन्छ । ४५ लाखलाई रोजगारी दिने आधार के हो ? भन्ने प्रश्न खडा भएको छ ।
सरकारले ल्याउने बजेटले प्रशासनिक खर्च र पुराना ऋणको साँवा-ब्याज धान्नै मुस्किल परिरहेको अवस्थामा, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ठोस योजना र उत्पादनमा आधारित अनुदान बिना यति ठुलो संख्यामा रोजगारी सिर्जना गर्नु केवल चुनावी एजेन्डा मात्र हुने देखिन्छ । दातृ निकायको ऋणले ठुला आयोजना त बन्लान्, तर ती आयोजनाले तत्कालै लाखौँको सङ्ख्यामा स्थायी रोजगारी सिर्जना गर्ने क्षमता भने राख्दैनन् ।
मन्त्रालयका अनुसार वैदेशिक सहायता परिचालनमा रहेका नीतिगत र संरचनागत कमजोरी सुधार्न सरकारले वैदेशिक सहायता परिचालन नीति, २०८२ कार्यान्वयनमा ल्याएको छ । आयोजनाहरूको पूर्वतयारी बिना नै सम्झौता गर्ने परिपाटी र ठेक्का व्यवस्थापनमा हुने ढिलाइले सहायता रकम समयमा खर्च हुन सकेको छैन । हाल विश्व बैंक र एसियाली विकास बैंक तर्फ ठुलो परिमाणमा स्रोत उपलब्ध भए पनि आयोजना कार्यान्वयन फितलो हुँदा शोधभर्ना लिन बाँकी रकम अर्बौँ पुगेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार नयाँ नीतिले अन्तर-निकाय समन्वय बढाउने र शोधभर्नामा आधारित आयोजनाहरूको नगद प्रवाह व्यवस्थापनमा सहजता ल्याउनेछ । हाल एडीबी र विश्व बैंकबाट मात्रै करिब ३ हजार ७ सय ८६ मिलियन अमेरिकी डलर बराबरको स्रोत प्राप्ति हुन बाँकी छ । यदि आयोजना कार्यान्वयनमा तीव्रता आएमा आगामी दिनमा वैदेशिक सहायताको प्राप्ति र परिचालनमा उल्लेख्य सुधार हुने सरकारको अपेक्षा रहेको छ ।
नेपालले आगामी दिनमा विश्व बैंक, एडीबी, आईएमएफ र एक्जिम बैंक जस्ता बहुपक्षीय तथा विभिन्न द्विपक्षीय साझेदारहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने चुनौती छ । अनुदान घट्दै जाँदा र ऋण बढ्दै जाँदा, ती ऋणबाट उत्पादकत्व बढाउन सकिएन भने भविष्यमा ऋणको भारीले अर्थतन्त्र थप थिचिने जोखिम पनि उत्तिकै देखिएको छ ।


